काठमाडौं । मनोहरा खोलाको सिमसार क्षेत्रमा गेरुमुहार चाँचर नामको दुर्लभ आगन्तुक चरा भेटिएको छ । जैविक विविधता विज्ञ सुजन श्रेष्ठ र वन्यजन्तु फोटोग्राफर कृष्णकाजी प्रजापतिले यी चरालाई आफनो क्यामेरमा कैद गर्न सफल भएका छन् । यो चरा यसरी यहाँं भेटाउन सक्नु नेपालको दोस्रो तथा काठमाडौं उपत्यकाको पहिलो आधिकारिक अभिलेख भएको दावी गरिएको छ ।
पुस ३० गते दिउँसो मनोहरा खोलाको आसपास सिमसार क्षेत्रबाट हामी यो फोटो कैद गर्न सफल भएका हौं, उनीहरुले भने । उक्त स्थान काठमाडौं जिल्ला अन्तर्गत कागेश्वरी–मनोहरा नगरपालिकाको मुलपानी चौरबाट करिब ५०० मिटर दक्षिण–पूर्ब तर्फ अवस्थित छ ।
प्रायः मनोहरा खोलामा चराको फोटो खिच्दै आएका श्रेष्ठ र प्रजापतिलाई यसपटक देखिएको यो चरा सुरुमै असामान्य लागेको थियो । त्यसपछि ती चराको तस्बिरहरू बर्ड कन्जर्भेसन नेपालमा उनीहरुले पेश गरिएका थिए । प्रारम्भिक रूपमा उक्त चरा गेरुमुहार चाँचर भएको अनुमान उनीहरुको थियो । पछि बर्ड कन्जर्भेसन नेपालका चरा विज्ञ तथा कार्यकारी समितिका अध्यक्ष विमल थापा तथा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा चरा बिशेसज्ञ डा कमलराज गोसाईले आधिकारिक रूपमा पुष्टि गरेका थिए ।
यस चराको वैज्ञानिक नाम गेरुमुहार चाँचर रहेको यसअघि नेपालमा चराविद् शंकर तिवारीले २०८१ कार्तिक २५ मा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ जिल्लाबाट पहिलो पटक पुष्टि गरेका थिए । गेरुमुहार चाँचर प्यासेरिफोर्मीस र टर्डिडी परिवारमा पर्ने चरा हो । यस चरा वयस्क भाले चम्किला रङका हुन्छन् भने कम उमेरका पोथीहरूमा घाँटी र छातीमा कालो धब्बा देखिन्छ । नेपालमा पाइने आगन्तुक चरा डस्की चाँचरसँग मिल्दोजुल्दो देखिए पनि गेरुमुहार चाँचर तुलनात्मक रूपमा फिक्का र बढी सुन्तलामय रङको हुने जानकारहरु बचताउँंछन् । यसको टाउकोको ढाँचामा पनि डस्की चाँचरभन्दा फिक्का रंग र पेटतर्फ प्वाँखको तहमा सुन्तलामय ढाँचा हुन्छ । यसको प्रजनन क्षेत्र विशेषगरी दक्षिण–मध्य साइबेरियामा पर्दछ भने जाडो याममा दक्षिणतर्फ आव्रजन गर्दै दक्षिण–पूर्वी रसिया, चीन, मङ्गोलिया, जापान, कोरिया तथा ताइवानसम्म पुग्ने गर्दछ ।
ई–बर्ड र विभिन्न प्रकाशित अभिलेख आधारमा यो चरा दुर्लभ आगन्तुकका रूपमा युरोपका केही देशहरू (नर्वे, बेलायत, पोल्याण्ड, बुल्गेरिया, फिनल्याण्ड, हंगेरी, स्पेन) तथा एसियाली देशहरू (भुटान, म्यानमार, थाइल्याण्ड, नेपाल, भारत र कम्बोडिया) मा समेत फेला परेको छ । यस्ता लामो दूरीका यात्रामा चराहरूले नदी किनार, बगर र झाडी क्षेत्रलाई आराम, आहार र अस्थायी बासस्थानका रूपमा प्रयोग गर्ने गर्दछन् । लगातार चार दिनको अवलोकनका क्रममा उक्त चरा नजिकका खेतबारी, सिमसार क्षेत्र तथा साना झाडीमा चरिरहेको देखिएको थियो भने विश्रामका लागि खेत वरपरको बार र साना रुखहरूमा आएर बस्ने गरेको पाइएको विज्ञहरुले बताए ।
काठमाडौं उपत्यकाका सिमसार तथा उर्वर भुमिहरू तीव्र रूपमा सङ्कुचित हुँदै गएका छन्, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा चरा बिशेसज्ञ डा कमलराज गोसाईले नागरिकसँंग भने, खोलानालामा बढ्दो प्रदूषण, फोहोर फाल्ने प्रवृत्ति, बालुवा उत्खनन, नदी किनार अतिक्रमण तथा अव्यवस्थित पूर्वाधार विकासले यस्ता संवेदनशील क्षेत्रहरू क्रमशः नष्ट हुँदै गएका छन् । मनोहरा खोलामा भएको गेरुमुहार चाँचरको यो अभिलेखले सहरी विकास र जैविक संरक्षणबीच सन्तुलन आवश्यक रहेको बहसलाई पुनः सतहमा ल्याएको उनी सुनाउँंछन् । उनका अनुसार गेरुमुहार चाँचर साइबेरियाली राजपुत्रिका तथा अन्य रैथाने र आगन्तुक चराहरूको उपस्थिति मनोहरा खोलाको मौन चेतावनी हो । यदि आज खोला र सिमसार संरक्षणलाई प्राथमिकता नदिने हो भने भोलिका दिनमा यस्ता दुर्लभ प्राणीहरू देख्न नपाइने खतरा बढ्दै जाने उनी बताउँछन् । त्यसैले यो अभिलेखलाई केवल चरा प्रेमीहरूको उपलब्धिका रूपमा मात्र नभई सहरी प्रकृति संरक्षणप्रति सबैलाई सचेत गराउने महत्वपूर्ण सन्देशका रूपमा लिन आवश्यक रहेको उनको जोड छ ।














