उद्योग विभागका महानिर्देशकको टोलीद्धार एल एन जी प्लान्टको अनुगमन

उद्योग विभागका महानिर्देशकको टोलीद्धार एल एन जी प्लान्टको अनुगमन

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीको नेतृत्वमा विभागको टोलीले बाराको जितपुतसिमरामा अवस्थित योग्य होल्डिङ्सको एल एन जी प्लान्टको अनुगमन गरेको छ । निर्देशक खगेन्द्र बस्नेत सहितको प्राविधिक टोली प्लान्टको प्रगति, प्राविधिक पूर्वाधार, आयात प्रक्रियाको अवस्था र सञ्चालन तयारीबारे प्रत्यक्ष अवलोकन गर्न सिमरा पुगेको हो ।

शिव प्रसाद घिमिरेले नेपालमै पहिलो प्राकृतिक ग्यास (एलएनजी) उत्पादन तथा वितरण गर्ने लक्ष्यसहित योग्य होल्डिङ्स स्थापना गरेका थिए । नेपाल–भारत सहमति अनुसार सुरु भएको यो परियोजना सञ्चालनको चरणमा पुगेको छ । उद्योग विभागले गत वर्ष मंसिर ७ मा कम्पनीलाई एलएनजी आयात अनुमति दिएको थियो । त्यसअनुसार प्लान्ट निर्माण सम्पन्न भइसकेको छ र पहिलोपटक एल एन जी बोकेर आएको बुलेट पनि प्लान्टमा सुरक्षित भित्रिसकेको विभागले जनाएको छ ।

योग्य होल्डिङ्सले एलएनजीलाई वैकल्पिक उर्जा स्रोतका रूपमा प्रवर्द्धन गर्ने दीर्घकालीन योजना अघि सारेको छ । प्लान्टमा हालसम्म ५० करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । पेट्रोलियम पदार्थको कारोबारमा ३० वर्षको अनुभव भएका शिव प्रसाद घिमिरे साधारण परिवारबाट व्यावसायिक यात्रा सुरु गर्दै ललितपुरबाट हेटौँडा हुँदै इटहरीसम्म विस्तार भएका उद्यमी हुन् । निरन्तर सक्रियता, लगनशीलता र जोखिम व्यवस्थापन क्षमताका कारण उनी पेट्रोलियम व्यवसायमा सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

उद्योग विभागले एलएनजीलाई औद्योगिक उर्जा व्यवस्थापनको विकल्पका रूपमा विकास गर्न निजी क्षेत्रको पहल महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अनुगमनबाट प्राप्त तथ्यांक र सुझावका आधारमा आवश्यक नीति तथा प्राविधिक समन्वय अघि बढाइने बताएको छ ।