मिवाछें महिला समूहले गर्याे बि.एम. आइ. परीक्षण,

हृदयराेग प्रतिष्ठानकाे सहयाेगमा मिवाछें महिला समूहले गर्याे बि.एम. आइ. परीक्षण, रक्तचाप मापन, सुगर जाँचका साथै मुटुराेग सचेतनामूलक अभिमुखिकरण कार्यक्रम
भक्तपुर,
नयाँ आर्थिक वर्षकाे प्रारम्भसँगै मिवाछें महिला समुह, मिवाछें, भक्तपुरकाे आयाेजना तथा नेपाल हृदयराेग निवारण प्रतिष्ठान,भक्तपुर शाखाकाे सहआयाेजनामा एभरेष्ट ईङ्गलिश स्कूल, भक्तपुरमा सम्पन्न कार्यक्रममा डा. शैलेन्द्रबिर कर्माचार्यले मुटुराेग र त्यससँग सम्बन्धित राेगहरूबारे जनसचेतनामूलक प्रस्तुतिकरण गर्नुभयाे । प्रस्तुतिकाे क्रममा उहाँले मुटुराेग लाग्नुका कारण, अपनाउनु पर्ने सतर्कता, उच्च रक्तचाप र तिनले पार्ने असर, राेकथामका उपायहरू र जीवनश‌ैलीमा परिवर्तन तथा खानपिनमा ध्यान पुर्याउनु पर्ने विषयवस्तुबारे बिस्तृत जानकारी सहितकाे सचेतनामूलक प्रस्तुतिकरण गर्नुभएकाे थियाे ।

मिवाछें महिला समूहले पहिलाेपटक आयाेजना गरेकाे उक्त कार्यक्रममा साे समूहका १२३ जना सदस्यहरूकाे उपस्थितिमध्ये नेपाल हृदयराेग निवारण प्रतिष्ठान भक्तपुरले १०४ जनामा बि.एम.अाई.परीक्षण, रक्तचाप मापन तथा सुगर जाँच कार्यक्रम समेत सम्पन्न गरेकाे छ । साे परीक्षणकाे प्रतिवेदन अनुसार ४९ जनामा सामान्य, ३९ जनामा माेटाेपना, १३ जनामा अधिक ताैल र ३ जनामा कम ताैल देखिएकाे र सहभागी मध्ये नै उच्च रक्तचाप १८ जना, न्युन रक्तचाप १७ जना र सामान्य ६९ जना रहेकाे जनाईएकाे छ । साेही दिन लिएकाे सुगर जाँचकाे रिपाेर्ट अनुसार २२ जनामा सुगरकाे बाेर्डर क्रस गरी जाेखिम क्षेत्रमा पुगेकाे जनाईएकाे छ ।
कार्यक्रममा प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीले मिवाछें महिला समुहकाे आँट र सामुहिक प्रयासकाे प्रशंसा गर्दै मुटुराेग सम्बन्धी अझै थुप्रै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी यसलाई निरन्तरता दिएकाे खण्डमा समाज रूपान्तरण कार्यमा नमूना समुह बन्न सकिने बताउनुभयाे ।
कार्यक्रमका सभाध्यक्ष उक्त महिला समुहका अध्यक्ष दिल केशरी सुवाल, सक्रिय सदस्य केशरी प्रधान, एभरेष्ट ईङ्गलिश स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीलगायतले आफ्नाे धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा प्राविधिक टाेलीलगायत प्रतिष्ठान, महिला समुह र एभरेष्ट ईङ्गलिश स्कूलबाट १ दर्जन भन्दा बढी स्वयम्सेवक र स्वयमसेविकाहरू परिचालित गरिएकाे थियाे ।
त्यस‌ैगरी कार्यक्रममा सुगर जाँचलाई अझ सहजिकरण गर्न कमलविनायक पाेलिक्लिनिकका प्राविधिक टाेलीले सक्रिय सहयाेग पुर्याएकाे थियाे ।