१०८ फिट को सपनेश्वर मन्दिर निर्माणार्थ कलमसिमा शिव पुराण हुने
भक्तपुर, चैत्र ७ गते
चाँगुनारायण नगरपालिका वडा नं. ८ र ९ र बनेपा नगरपालिका वडा नं. १को संगम स्थल कलमसीमा १०८ फिटको सपनेश्वर महादेव मन्दिर निर्माण गर्न शिव पुराण वाचन हुने भएको छ । आगामी बैशाख २ गते देखि १३ गतेसम्म आयोजना हुने शिव पुराणबाट मन्दिर निर्माणका लागि आवश्यक सहयोग जुताउने लक्ष्य लिएको भन्दै सो बारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।


भक्तपुरको कमलविनायकमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नगरकोट भ्रमण वर्षको एउटा आकर्षक गन्तव्यको रुपमा सपनेशवर महादेव परिसर निर्माण गरिने गरि शिव पुराण हुने जनाएको हो । सपनेश्वर महादेव मन्दिर निर्माण बारे बोल्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षलाई सफल पार्न सकारात्मक दृष्टिकोणबाट प्रचार प्रसार गर्न पत्रकारहरुलाई आग्रह गर्नु भयो । कमि कमजोरी देखाउँदैमा नकारात्मक नहुने भन्दै नगर प्रमुख खत्रीले चाँगु क्षेत्रमा अथाह प्राकृतिक एवं सांस्कृतिक धरोहर रहेको भन्दै यसको उजागर गरी पर्यटन वर्षलाई सफल पार्न आग्रह गर्नु भयो । पत्रकारहरुको जिज्ञासाहरु माथि प्रकाश पार्दै नगरपालिकाका प्रवक्ता जनक खत्रीले सपनेश्वर महादेव निर्माण गर्न गुरुजी आफैले ७ करोड खर्च गरी सक्दा महादेवको कमर माथिको जीउँ मात्र बनाउन बाकी रहेको भन्दै अव २।३ करोड रकमले बाँकी काम सम्पन्न हुने र यसको सबै हिसाव किताब पारदर्शी हुने बताए । उहाँले भने अव उठ्ने पैसा बसि रहेको शिवको मूर्ति निर्माण कार्य पूरा गर्नकालागि हो भनेका छन् । सो अवसरमा वितरित प्रेस विज्ञप्ति निम्नानुसार छ ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२ मनाउन गइरहेको सन्दर्भमा नगरकोट भ्रमण वर्ष २०८२ को अबसरमा धार्मिक पर्यटनलाइ संगसंगै लैजाने उद्देश्य अनुरुप नगरकोट भ्यू टावरबाट नजिकै रहेको, पर्यटकहरुको चाप रहिरहने बोजिनी ड्याम नजिकै रहेको तथा काठमाण्डौ उपत्यका लगायत नाल बनेपा धुलिखेल सम्मको दृश्य अवलोकन गर्न सकिने उच्च स्थानमा रहेको प्रसिद्द कलमसी क्षेत्रमा अबस्थित १०८ फिट कल्पेश्वर महादेव निर्माणाधिन स्थल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८, ९ र बनेपा नगरपालिका बडा नं १ को संगम स्थल कलमसी कालिका कल्पेश्वर धाम भक्तपुर जिल्लाको उत्तर पुर्वी स्थानमा रहेको एक धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ । उक्त स्थानमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइ कुण्ड, २७ धारा, नारायण कुण्ड लगायतका धार्मिक संरचनाहरु रहेका छन् । उक्त क्षेत्रको वरीपरि रहेका धार्मिक महत्वका क्षेत्रहरुमा पुर्वमा पुण्यवती नदि, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठुली ब्रम्हायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मिकेश्वर महादेव, वागेहिणी महादेव, थाकलमोठ स्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रनचुडेश्वर महादेव विराजमान रहेका छन् । परापुर्व कालमा सुडालमा रहेको ठुली ब्रम्हायणी मन्दिरबाट सेतो रङको बाघ राती कल्पेश्वर महादेव रहेको स्थानमा रहेको स्थान हुदै गणेश ढुङ्गा सम्म ओहोरदोहोर गर्ने गरेको किंबदन्ती रहेको छ । त्यसै गरी उक्त स्थानमा अक्क्ष्य श्री महाराज १०८ ले समेत विभिन्न कार्यक्रम गरी तपस्याका साथ शक्ति प्राप्त गर्नुभएको र शिवतान्त्रिक गुरु बुद्दिकुमार खङ्गीले तान्त्रिक विधिबाट हेर्दा यस पुण्य भूमिमा धार्मिक शक्ति रहेकोले उक्त स्थानमा १०८ फिट कोचर महादेवको मुर्ति स्थापना गर्ने सोचका साथ स्थानिय समुदाय एवं सरकारी निकायहरुको सहकार्यमा अगाडी बढाउनु भएको काम हालको अवस्थासम्म आइपुग्दा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइ कुण्ड, २७ धारा, नारायण कुण्ड लगायतका धार्मिक संरचनाहरु निर्माण भइसकेका छन् । हालको अबस्थामा कल्पेश्वर महादेवको मुर्ती निर्माणाधिन नै रहेकोले उक्त मुर्ति निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको मिति २०८१÷११÷०३ गतेको बैठकको निर्णय अनुसार शिव पुराण लगाउने र उक्त कार्यको संयोजकको रुपमा चौगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्ष श्री जनक खची ज्यू लाइ सम्पुर्ण समुदायको तर्फबाट उक्त कार्यक्रमको संयोजकको रुपमा जिम्मेबारी दिए संगै उहाले बिभिन्न चरणमा विभिन्न सरोकारबालहरुसंग बैठक बसि पहिलो चरणमा ३३ सदस्य मुल समारोह समित निर्माण गरी विभिन्न उपसमितिहरु समेत निर्माण गरी १०८ फिट अग्लो महादेवको मुर्ति निर्माण गर्ने पवित्र उद्देश्यका साथ नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा मिति २०८२÷०१÷०२ देखि १३ गते सम्म शिव पुराण संचालन गर्न लागिएको हो ।













