अक्सिजन उत्पादन र कोरोना उपचारका लागि भनपालाई एक्कै दिन ३० लाख भन्दा बढी आर्थिक सहयोग
भक्तपुर, जेष्ठ ९ गते
अक्सिजन प्लान र कोभिड यूनिट सञ्चालनका लागि भक्तपुर नगरपालिकालाई आईतबार एक्कै दिन ३० लाख भन्दा बढी आर्थिक सहयोग जुतेको छ । भक्तपुर नगरपालिकाले देशभर कोभिड १९ संक्रमितहरुको उपचारका लागि अक्सिजनको अभाव भइरहेको बेला कोरोना संक्रमण रोकथाम र उपचारका साथै आवश्यक अक्सिजन उत्पादनका लागि सहयोग गर्न आह्वान गरे अनुसार विभिन्न सहकारी संघ संस्था र महानुभवहरुले आर्थिक सहयोग गरेका हुन । आईतबार एक्कै दिन ३० लाख १सय ६ रुपियाँ सहयोग जुतेको नगरपालिका श्रोतले जनाएको छ । यसरी सहयोग गर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं.७स्थित सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. र भनपा ९ वडास्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले जनही रु.१०।१० लाख, भनपा ५स्थित संगम बचत तथा ऋण सहकारी संस्था लि.ले रु.५ लाख, भनपा ४स्थित बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले ४ लाख यसै गरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले रु १ लाख र सूनपा १० स्थित धनश्याम देउजाले १० हजार १०६ रुपियाँ सहयोग गरेका हुन । यसरी सहयोग गर्न चाहने महानुभवा तथा संघ संस्थालाई भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गरी दिन अनुरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले हाल २५ एचडियू सहित ७५ वेडको आइसोलेशन केन्द्र सञ्चालन गर्दै आएको छ । सो केन्द्रबाट गत हप्तासम्ममा १२१ जना संक्रमितहरुको उपचार गरिसकेका छन् । भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा संक्रमितहरुको उपचारमा अक्सीजन अभाव हुन नदिन ख्वप अस्पतालमा अक्सीजन प्लान्ट जडान गर्ने कार्यमा सहयोग गर्न आह्वान गर्दै आएको छ । सहयोगि महानुभाव र संघ संस्थाका प्रतिनिधीहरुले सो रकम बराबरको चेक भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
















