नगरकोटमा वृहत स्वास्थ्य शिविर आयोजना
नगरकोट, पुस १२ गते
पर्यटकीय नगरी नगरकोटमा आज वृहत स्वास्थ्य शिविर आयोजना भएको छ । जनस्वस्थ्य कार्यालय भक्तपुर, भक्तपुर अस्पताल, आयुर्बेदिक तथा बैकल्पिक चिकित्सालयको संयुक्त आयोजना र चाँगुनारायण नगरपालिकासँगको सहकार्य एवं नेपाल रेडक्रस सोसाईटी भक्तपुर र मदनदेउपुर नगरपालिकासँगको समन्वयमा वृहत्त एकीकृत जनस्वास्थ्य तथा सामान्य शाल्यक्रिया सहितको स्वास्थ्य शिविर आयोजना भएको हो । २ सय जनाको स्वास्थ्य परिक्षण गर्ने गरी आयोजित सो शिविरमा ४ सय भन्दा बढीको सहभागिता रहको भन्दै जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले यो कार्यक्रम जनस्वास्थ्य कार्यालयको नियमित कार्यक्रम भएको बताउँदै भक्तपुर अस्पताल र अन्य निकायसँग पनि मिलेर स्वास्थ्य शिविर आयोजना गर्दा नगरकोट क्षेत्रका समुदायलाई शिविर प्रभावकारी देखिएको बताउनु भयो ।


भक्तपुरलाई स्वास्थ्य हवको रुपमा विकास गर्ने आधारहरु चाँगुनारायण क्षेत्रमा निर्माण कार्य भइरहेको भन्दै शिविरको उद्घाटन गरेका प्रदेश सांसद सुरेश श्रेष्ठले सो अवसरमा सरकारी अस्पतालहरुले सकेसम्म निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिनु भयो । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोाकीले लाहान्चा फल्चा देखि नगरकोट सडक निधारित समयमै नबन्दा जनतालाई समस्या भएको भन्दै चाँगु क्षेत्रमा विभिन्न अस्पतालहरुलाई जग्गा प्रदान गर्दै स्वास्थ्य सेवा विकासमा टेवा पुर्याउँदै आएको बताउनु भयो । स्थानीय वडाध्यक्ष धनबहादुर लामाले शिविरले दिएको सेवा अस्पतालले दिएको जस्तै बृहत भएको र स्वास्थ्य परीक्षणका लागि पनि मदनदेउपर देखि विभिन्न क्षेत्रबाट सोचे भन्दा बढी सहभागिता भएको बताउनु भयो । जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत दिपक अछामी र स्वास्थ्य कार्यालय चाँगु नागर शाखा प्रमुख दिलकुमार दुवालले सहजिकरण गरेको सो शिविरमा चाँगु नगर अस्पतालका प्रमुख डाक्टर अर्जुन कार्कीले विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरले समुदायमा लुकेर रहेका रोगिहरुको पहिचान गरी थप उपचार गर्न समेत सहज हुने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो भने विशेषज्ञ सेवा सहित जनरल स्वास्थ्य परिक्षण तथा उपचार सेवा, सामान्य सल्यक्रिया सेवा, भिडियो एक्स रे सेवा, इ.सि.जी. सेवा, आङग खस्ने समस्या र यौन रोग सम्बन्धि स्क्रिनिङ्ग तथा उपचार सेवा, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर, नसर्ने रोगको स्क्रिनिङ्ग (मधुमेह, उच्च रक्तचाप, पिसावमा प्रोटिनको जाँच तथा प्रेषण सेवा), आँखा जाँच, चस्मा जाँच तथा उपचार सेवा, नाक, कान घाँटी जाँच तथा उपचार सेवा र आयुर्वेद चिकित्सकीय जाँच तथा उपचार सेवा समेत प्रदान गरिएको थियो । आफ्नै घर आगँनमा अस्पतालले दिने सेवा निःशुल्क पाएपछि स्थानीय समुदाय उत्साहका साथ स्वास्थ्य परिक्षणमा सहभागि भएका थिए ।
















