संविधान कार्यान्वयनकालागि स्थानीय तहलाई ध्यान दिनुपर्ने :अध्यक्ष विजुक्छें
भक्तपुर, भाद्र ३ गते
संविधान दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा संविधान कार्यान्वयन र संशोधनका प्रश्न विषयमा आज प्रवचन कार्यक्रम आयोजना गरेको छ । ख्वप इन्जिनियरिङ्ग कलेजको सभा हलमा आयोजित सो कार्यक्रममा बोल्नु हुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले संविधान कार्यान्वयनमा सत्तासिन दलहरु गम्भिर नभएको भन्दै उहाँले संविधान कार्यान्वयनमा जातजाती, भाषा भाषी एवं भुगोल अनुसार स्थानीय निकायलाई ध्यान दिनुपर्नेमा जोड दिनु भयो । संविधान निर्माणको बेला मौलिक अधिकारको रुपमा ‘व्यक्तित्व विकासमा समान अवसर र योग्यता अनुसारको काम र काम अनुसारको ज्याला’को विषय समेतिनुपर्नेमा जोड दिएको चर्चा गर्दै अध्यक्ष विजुक्छेले यसमा सत्तासिन दलहरुले स्विकार नगरेको बताउनु भयो । यो विषय राख्ने भए नेमकिपा सरकारमा आउनुपर्ने एमाले, कांग्रेसको मागमा अध्यक्ष विजुक्छेंले भन्नु भयो ‘सरकारमा जान्न जनताले नेमकिपालाई म्याण्डेट दिएको छैन ।’
कार्यक्रममा संविधानविद् विपिन अघिकारीले जनताका असिमित आकाक्षाहरु बीच संविधान कार्यान्वन र संशोधनका विषयहरु उठ्नु स्वभाविक भएको चर्चा गर्दै उहाँले संविधान कानुनी मात्र नभई राजनैतिक दस्तावेज पनि भएकाले निर्वाचन प्रणाली बलियो भयो भने मात्रै संविधान कार्यान्वयन प्रभावकारी हुने बताउनु भयो । उहाँले जनताको आवश्यकता जनप्रतिनिधीले परिपूर्ति गर्ने भएकाले जनअपेक्षा अनुसार संविधान र नीति निर्माण तथा कार्यान्वयन हुने धारणा राखेका थिए ।



भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको सो प्रवचन कार्यक्रममा कानुन मन्त्रालयका आसला बैद्य, कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापति, आयोजक ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माक ख्वप कलेजका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी सहितका अतिथिहरुले संविधान कार्यान्वयन र संशोधनका प्रश्न विषयमा आआफ्नो विचार व्यक्त गरेका थिए ।
सो अवसरमा विभिन्न प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीहरुलाई अध्यक्ष विजुक्छेले मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो भने पैरबी वुक हाउसद्वारा ६५ वटा कितावहरु भक्तपुर नगरपालिकाकालागि हस्तान्तरण गरिएको थियो ।














