साहित्यकार श्याम आशा १० हजार नगदसहित पुरस्कृत

साहित्यकार श्याम आशा १० हजार नगदसहित पुरस्कृत भएका छन्। शनिबार भक्तपुरमा भएको धनमान लघुकथा पुरस्कार २०८१ समर्पण समारोहमा उनलाई नगदसहित प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको हो।

सिर्जना अभियान भक्तपुरको आयोजनामा भएको कार्यक्रममा प्रत्येक वर्ष कथा र लोककथालाई पालैपालो वर्षमा एक पटक लघुकथा समाज नेपाल काठमाडौंले यो पुरस्कार प्रदान गर्दै आएको छ । समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाले पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले लघुकथा मुक्तक, गजल जस्तो मानिसलाई मुर्छा पार्ने कला हुनुपर्ने बताए । कार्यक्रममा समाजका अध्यक्ष गोपाल अश्ल, पुरस्कारका संस्थापक धनमान श्रेष्ठ, एभरेस्ट स्कुल भक्तपुरका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारी, संस्थाका महासचिव सुमन सौरभ, सचिव श्रीबाबु कार्की उदासलगायतले लघुकथा शब्दको राम्रो अभिव्यक्तिको कला भएको बताए ।