भनपा १०मा सरसफाई कार्यक्रम
भक्तपुर, २७ माघ । लान्चा, दथु प:ली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु प:ली व्यारेकदेखि लान्चाफल्चासम्म सरसफाई कार्यक्रम भक्तपुर नगरपालिकाको सहयोगमा शनिवार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि १० नं वडासदस्य कृष्णनारायण दुमरुले बिलय भई सकेको भत्केकोपाटीलाई पुरानै स्थानीय नाम लान्चाफल्चा नामाकरण गरी सो पाटी र फुलबारी समेत जनताको सहयोगमा नगरपालिकाले निर्माण गरेर यस क्षेत्रको वातावरण सुधार गरेको बताउनुभयो । उहाँले फोहरलाई कुहिने र नकुहिने छुट्याई नगरपालिकाको गाडी वा गाडामा राखीदिनु हुन अनुरोध गर्दै विगतमा फोहर छुट्याउन बाल्टिन वितरण समेत गरेको हुँदा स्वयम्स्फूर्त परिवर्तन नआएसम्म फोहर नछुटिने भएकोले आफैबाट फोहर छुट्याउने सुरुवाट गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा वडा निरिक्षक रामकृष्ण प्रजापतिले सरसफाई सभ्याताको परिचय भएको हुँदा जहाँ सफा हुन्छ त्यहाँका मानिसहरु सभ्य भएको पहिचान हुने भएकोले नगरपालिकाले सरसफाईमा जोड दिई आएको बताउनुभयो । उहाँले फोहर कुहिने र नकुहिने छुट्याई कुहिने फोहरको कम्पोष्ट मल बनाई कृषि जन्य उत्पादनमा प्रयोग गरे अर्गानिक कृषि उत्पादन उपभोग गर्दा क्यान्सर र मृगौला रोग लगायत दीर्घ रोगबाट बच्न सक्ने बताउँदै मल अभावलाई पनि केहि राहत पुग्ने बताउनभुयो । उहाँले सरसफाईले निरोगी भई स्वस्थ्य हुँदा समाजमा योगदान गर्न सक्ने साथै आफ्नो व्यक्तित्व विकासमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले सरसफाईमा बर्ष करौडौं करोड खर्च भई रहेकोले हामीले हाम्रा टोल र घरको फोहर हामी आफै सफाई गरे नगरपालिकाको सफाई खर्चमा कमि आई विकास निर्माणमा उक्त रकम प्रयोग गर्न पाउने बताउनुभयो ।
कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष सरोज सुवालले सरसफाईमा सहभागी भएका सबै वडाबासीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सहयोगमा सफलता पूर्वक सम्पन्न भएको बताउँदै टोलको ढल निकास लगायत विकास निर्माण कार्यमा सहयोगको लागि अनुरोध गर्नुभयो । कार्यक्रममा सचिव हरिभक्त फोजुले पनि बोल्नु भएको थियो ।













