भक्तपुर जिल्लामा अझै ३ जना कुष्ठरोगी उपचारमा !,
भक्तपुर, माघ १४
७१ औै विश्व कुष्ठ रोग दिवसको अवसरमा भक्तपुरमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कृष्ठ रोग उन्मुलनमा जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरले आयोजित सो कार्यक्रममा जिल्लामा ३ जना मात्रै कुष्ठ रोग संक्रमितहरु उपचारमा रहेको पुष्टि भएपनि समुदायस्तरमा लुकेर रहेका कुष्ठ रोगीहरु रहन सक्ने चर्चा गर्दै लक्षण देखिने बितिक्कै उपचारमा लाग्न आग्रह गरेका हुन । कुष्ठरोग सम्वन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने नाराका साथ यस वर्षका ७१ ऋौं विश्व कुष्ठ रोग दिवस विभिन्न कार्यक्रम गरी मनाउनेक्रममा भक्तपुरमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रमका साथ मनाइएको हो ।


सन् २०१० देखि नेपालमा कुष्ठ रोग उन्मुलनका लागि अभियान सञ्चालन हुँदै आएको छ । प्रति एक हजारमा एक जना मात्रै कुष्ठ रोग भए पनि कुष्ठरोग उन्मूलन भएको देशको मान्यता पाउने अन्तराष्ट्रिय मान्यता अनुसार नेपाल कुष्ठरोग उन्मूलन भएको देशकोे रुपमा घोषणा भइसकेको छ । स्वासप्रश्वासका माध्यमबाट सर्ने यस रोग तराई क्षेत्रमा मापदण्ड भन्दा बढी संक्रमित देखिए पनि समग्रमा नेपालमा १प्रतिशत भन्दा कम संक्रमित छन् भन्दै अन्तरक्रियामा आयोजक स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले संक्रमित क्षेत्रमा मानिसहरु ओहोरदोहोर भइरहने भएकाले यसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्य नजर गर्दै यस अभियान सञ्चालन हुँदै आएको बताए । जति संक्रमित देखिएका छन् त्यो भन्दा बढी समुदायमा संक्रमित हुन सक्ने भएकाले सचेतनामूलक गतविधिलाई ७१ वर्ष देखि निरन्तरता दिइ आएको चर्चा गर्दै उहाँले छालामा लाटो, फुस्रो दाग देखिने, स्नायु –नशा) सुन्निने, छालामा नदुख्ने, नचिलाउने गिर्खा देखा पर्ने, हात गोडा झमझम गर्ने, हात गोडा लाटो हुने, पोलेको थाहा नहुने, शरीरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने, शरीरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने, हात गोडा लुलो तथा बाङ्गो हुने, आँखा पूरा बन्द गर्न नसक्ने आदि यस रोगका लक्षणहरू रहेको बताए ।


स्वास्थ्य कार्यालय भक्तपुरका प्राविधिक झोलानाथ पौड्यलले कुष्ठ रोग बारे प्रस्तुतीकरण गर्दै जिल्लामा उपचारमा रहेका ३ जना संक्रमितहरु मध्ये २ जना भक्तपुर नगर क्षेत्रका र एक जना मध्यपुर थिमी नगरपालिका क्षेत्रको रहेको र तिनीहरु स्थानीय नभइ बाहिरबाट आएकाहरु रहेको भन्दै उपचारमा रहेकाले तिनीहरुबाट थप संक्रमण फैलिने डर नभएको तर लुकेर रहेका कुष्ठ रोगीहरु थप संक्रमण हुन सक्ने भएकाले सचेतनाको आवश्यकतामा जोड दिनु भयो ।
भक्तपुर जिल्लाका ४ वटै नगरपालिका नगर अस्पताल तथा स्वास्थ्य शाखाका प्रतिनिधीहरु सहित पत्रकारहरुको सहभागितामा भएको सो अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति जगत प्रजापतिले कुष्ठ रोग निवारणकालागि विद्यालय स्तरबाट अभियान थाल्नुपर्नेमा जोड दिदै त्यसकालागि विभिन्न शैक्षिक संघ संस्थाहरुसँग सहकार्य गर्न सकिने धारणा व्यक्त गरेका थिए । अन्तरक्रियामा ख्वप अस्पतालका डा.रत्नसुन्दर श्रेष्ठ, चाँगु नगर स्वास्थ्य कार्यालयका प्रमुख सत्यकुमार दुवाल, मध्यपुर नगर स्वास्थ्य शाखाका प्रमुख श्रीकृष्ण प्रजापति र सूर्यविनायक नगर अस्पतालका प्रतिनिधि सहित विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको उपस्थिति थियो ।