समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था : सांसद सुवाल

समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था : सांसद सुवाल
भक्तपुर । २०८० माघ ७ गते, आइतबार
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पाक शिक्षा सैद्धान्तिक शिक्षा मात्र नभई पूर्णत: स्वास्थ्य जीवनशैलीसँग जोडिएको विषय भएको बताउँदै युवाहरुले आफ्नो सोच फराकिलो बनाउन देश विदेशको इतिहास, भूगोल र राजनीतिक परिवेशबारे पनि जानकार हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित ४ महिने आधारभूत पाक शिक्षा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले होटल व्यवसायीहरुले स्थानीय खाद्यान्नलाई प्राथमिकता दिनुपर्ने र विदेशीहरुलाई पनि उनीहरुको स्वादअनुसारको यहाँको खाद्यान्न समावेशतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।


समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था भएको र पुँजीवादी व्यवस्था सामूहिक हितभन्दा व्यक्तिगत हितलाई प्राथमिकतामा दिइने व्यवस्था भएको बताउँदै उहाँले समाजवाद निर्माणको निम्ति समाजवादी शिक्षाको व्यापक प्रचारप्रसार आवश्यक भएको बताउनुभयो । उहाँले समाजवाद र पुँजीवादबीचको भिन्नताबारे व्यापक जनतालाई सचेत बनाउन उनीहरुबीच छलफल र अन्तरक्रियाहरु चलाउन आवश्यक भएको बताउनुभयो ।
स्थानीय परिकारहरु विदेशी पर्यटकहरुको रोजाइमा पर्ने हुँदा स्वादिलो र उनीहरुको स्वादअनुसारको स्थानीय खाना प्रवद्र्धन तर्फ होटल व्यवसायीले जोड दिनुपर्ने बताउँदै सांसद सुवालले पर्यटकहरुको मागअनुसारको सेवा र सुविधाहरु उपलब्ध गराउन सके पर्यटकहरुको बसाइ पनि लम्बिने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले यहाँका युवाहरुलाई सीपमूलक तालिम दिई नेपालमै आफ्नो भविष्य बनाउने युवाहरु बढी लाभान्वित भएको बताउँदै उहाँले युवाहरुले लागूपदार्थ दुव्र्यसनीबाट टाढा रहनुपर्ने र असल चरित्र निर्माणतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटकीय गन्तव्यस्थल र साँस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुर अहिले जीवित संग्रहालयको रुपमा परिभाषित हुनु भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताउनुभयो ।
जनसंख्या र क्षेत्रफलको हिसाबले सानो समाजवादी देश क्युवाको पर्यटन विकासबाट नेपालले पनि सिक्नुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिमका साथै भाषा, सिलाईलगायतका तालिमहरु सञ्चालनलाई जोड दिँदै आएको बताउनुभयो ।
रेमिट्यान्सको भरमा देश सञ्चालन गर्ने शासकहरुको सोच निन्दनीय भएको बताउँदै उहाँले तालिमका प्रशिक्षार्थीहरुलाई सफल व्यवसायीहरुको रुपमा विकास गर्न उत्साहित गर्नुभयो ।
कुनै पनि काम ठूलो वा सानो नहुने बताउँदै प्रमुख प्रजापतिले श्रमको सम्मान गर्ने बानी हामीमा हुनुपर्छ भन्नुभयो ।
त्यस्तै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले जनताको चाहना र आवश्यकताअनुसार काम गर्दै आइरहेको बताउँदै आफूसँग भएको सीपलाई उद्यम र व्यवसायमा परिणत गर्न प्रशिक्षार्थीहरुलाई मार्गनिर्देश गर्नुभयो ।
शिक्षालाई उत्पादन स्रोतसँग जोड्ने नेपाल मजदुर किसान पार्टीको उद्देश्य भएको बताउँदै उहाँले भक्तपुरको शैक्षिक जग बलियो र मजबुद भएकै कारण भक्तपुर आज शैक्षिक रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
४ महिने आधारभूत पाक शिक्षा तालिमका प्रशिक्षक विष्णु श्रेष्ठले प्रशिक्षार्थीलाई आफ्नो तर्फबाट उत्कृष्ट प्रशिक्षण दिने प्रयास आफूबाट भएको बताउँदै युवालाई विदेशिनबाट रोक्न र आत्मनिर्भर बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीको तर्फबाट बोल्दै दुर्गाप्रसाद श्रेष्ठले तालिम सञ्चालनको लागि भक्तपुर नपालाई प्रशिक्षार्थीहरुको तर्फबाट धन्यवादज्ञापन गर्नुहुँदै पाक शिक्षा तालिमबाट सिकेको सीप जीवनउपयोगी भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैंया सुवालले स्वागत मन्तव्य र वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद सुवालले तालिममा सहभागी ६६ जना प्रशिक्षार्थी र प्रशिक्षकद्वय विष्णु श्रेष्ठ र सुनिल सुवाललाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।