नगर प्रमुख प्रजापति र कर्णाली प्रदेश सभा सदस्य भण्डारीबीच भेट

नगर प्रमुख प्रजापति र कर्णाली प्रदेश सभा सदस्य भण्डारीबीच भेट
२०८० कार्तिक १४ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कर्णाली प्रदेशका माननीय सभासद् एवम् सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आज भक्तपुर नपाको सभाकक्षमा भेट गर्नुभयो । प्रमुख प्रजापतिले सभासद् भण्डारीलाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्दै उहाँहरुबीच नगरपालिकाको कार्य सम्पादन र कार्यशैलीबारे अनुभव आदानप्रदान भयो ।


भेटमा सभासद् भण्डारीले आफू नगर प्रमुख भएको बेला दुल्लु नगरपालिकाले प्राविधिक शिक्षालय र अस्पताल सञ्चालन सुरु गरेको र उक्त संस्थाहरु सञ्चालन तथा व्यवस्थापनको लागि भक्तपुरको विकास मोडलको अध्ययनको सिलसिलामा भक्तपुर भ्रमणमा आएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा कर्णालीका धेरै विद्यार्थीहरु पनि अध्ययरत रहेको र त्यहाँबाट उत्पादित प्राविधिक जनशक्ति देशका विभिन्न संघ संस्थाहरुमा इमानदारीपूर्वक काम गरिरहेको अवगत गराउनुभयो ।
भेटमा प्रमुख प्रजपालिते कर्णाली विकासको धेरै सम्भावना रहेको प्रदेश भएको र त्यहाँ फलफूल, जडिबुटी, पशुपालन तथा जलविद्युतको क्षेत्रमा विकास गरी देशकै सम्पन्न प्रदेशको रुपमा अगाडि बढ्न सकिन्छ भन्नुभयो ।
समुदायलाई बलियो बनाउने नीतिअनुरुप भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै शिशुशालादेखि उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँले भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न नपाले विद्यालयहरुलाई आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आएको बताउनुभयो ।