भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठ र प्रहरी उपरीक्षक वेद बिष्टलाई स्वागत
भक्तपुर । २०८० असोज ९, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक वेद बिष्टको स्वागत तथा परिचयात्मक कार्यक्रम बुधबार सम्पन्न भयो ।
नगर प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठ र प्र.उ. बिष्टलाई पुष्प गुच्छा र खादाले स्वागत गर्दै उहाँहरूको कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुरमा वडा र नगरस्तरबाटै नगरबासी जनताहरुको समस्या समाधान गर्ने प्रयास गरिरहेको बताउँदै भक्तपुर नपाले जनतासँग मिलेर पारदर्शी ढंगले काम गरेकै कारण नगरपालिकाका हरेक गतिविधिमा जनस्तरबाट साथ र सहयोग प्राप्त भएको विचार राख्नुभयो ।
भक्तपुरका विभिन्न प्रमुख जिल्ला अधिकारीको कार्यकालमा भएका उपलब्धीमूलक कार्यहरुको स्मरण गर्दै उहाँले जनप्रतिनिधि र कर्मचारीहरुको एकाकार शक्तिकै कारण भक्तपुर नपाले जनताको हितमा काम गर्न सम्भव भएको बताउनुभयो ।
सभ्य र सुसंस्कृत समाज निर्माणमा भक्तपुरका जनता आफै स्वत:स्फूर्त रुपमा लागेको बताउँदै साहसिक काम गर्ने मान्छेलाई समाजलाई सँधै सम्झिरहने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाका हरेक काममा जिल्ला प्रशासन कार्यालयबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै भक्तपुरको शान्ति सुरक्षा कायम गर्ने विषयमा सँधै समन्वयकारी भूमिकाबाट काम हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठले भक्तपुरको शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण, विपद व्यवस्थापन, सुशासनलगायत क्षेत्रमा समन्वयकारी र साझेदारीपूर्ण ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरी उपरीक्षक बिष्टले सांस्कृतिक नगरी भक्तपुरको शान्ति सुरक्षाको सवालमा आफ्नो तर्फबाट समन्वयकारी खेल्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले स्वागत मन्तव्य राख्नुभयो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभयो ।
नगर प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठलाई भक्तपुर नगरपालिकाको प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।














