भक्तपुर नपाको चौधौं नगरसभा सम्पन्न
२०८० असार २९ गते, शुक्रबार
२०८० असार ६ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको चौधौं नगरसभा असार २९ गते शुक्रबार सम्पन्न भयो ।
नगरसभाका सभाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाको आजको बैठकले स्थानीय सेवा (कर्मचारी) गठन, सञ्चालन र व्यवस्थापन, सेवा, शर्त तथा सुविधा सम्बन्धमा बनेको विधेयक २०८० सर्वसम्मतिले पारित गर्यो ।


सभामार्फत सभाध्यक्ष प्रजापतिले १४ औं नगरसभा उद्घाटन समारोहका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि गण, बुद्धिजीवी, सञ्चारकर्मी, कर्मचारी, नगरबासीलगायतमा चौधौं नगरसभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउनुहुने सभासद्हरुलाई समेत धन्यवादज्ञापन गर्नुभयो ।
भक्तपुर नगरलाई दीर्घकालीन सोचका साथ अगाडि बढाउने प्रयास भइरहेको बताउँदै प्रमुख प्रजापतिले कर्मचारीहरुलाई व्यक्तिगतको फाइदाको लागि नभई जनताको सेवाको भावनाले संस्थाको आवश्यकताअनुसार संस्थाको हितमा काम गर्न प्रेरित गर्नुभयो ।
आज पारित भएको माथि उल्लिखत विधेयकमाथि भएको छलफलमा सभासद् रामसुन्दर बासीले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको लागि पनि छुट्टै ऐन ल्याउनुपर्ने, अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुले पनि मृत्यु संस्कार र सुत्केरी बिदा पाउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै सभासद् हेरा ख्याजुले कर्मचारीहरुको पद मिलान गर्नुपर्ने, कर्मचारीहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि सेवाकालीन अध्ययनको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
सभासद् नारायणप्रसाद त्वानाबासुले प्रदेश कानुनसँग नबाँझिने गरी स्तर वृद्धिको व्यवस्था गर्नुपर्ने र कर्मचारीहरुको लागि अध्ययन बिदाको व्यवस्था हुनुपर्ने विचार राख्नुभयो ।
सभासद् पुरुषोत्तम तमखूले करार र अस्थायी कर्मचारीहरुको जायज मागहरु सम्बोधन गर्नुपर्ने र कर्मचारीहरुले राजनीतिक गर्न नहुनेबारे प्रष्ट पार्नुपर्ने बताउनुभयो ।
त्यस्तै सभासद् श्यामसुन्दर मातांले कर्मचारीहरुलाई कानुनबमोजिम दिन सकिने सुविधाहरुको उल्लेख विधेयकमा गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् सिद्धिराम अवालले तहविहीन कर्मचारीहरुको स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवा थप गर्नुपर्ने, कर्मचारीको परिभाषाको प्रष्ट व्याख्या गर्नुपर्ने विचार राख्नुभयो ।
उक्त सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको चौधौं नगरसभाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।













