२०८३ भित्र चाँगुनारायण नगर टिबी फ्रि घोषणा हुने
भक्तपुर, असार २६ गते
चाँगु नगर टिबी फ्रि अभियान अन्तर्गत आज चाँगुनरायण नगरपालिका वडा नं.७ बागीश्वरीका शिक्षक विद्यार्थीहरुलाई अभियमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा चाँगुनारायण जनस्वास्थ्य शाखाको संयोजनमा बागीश्वरी क्षेत्रका समुदायकालागि टिबी फ्रि नेपाल अभियान बारे अभिमुखिकरण गरेका हुन ।


समुदायमा छरिएर रहेका टिबी संक्रमितहरुको पहिचान गरी उपचारको पहुँचमा पुर्याउन समुदायले खेल्नुपर्ने भूमिकाका सवालहरु सहित टिबी रोग रोकथाम र नियन्त्रणका बारेमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण गरेको सो कार्यक्रममा जनस्वास्थ्य शाखा प्रमुख सत्य दुवालले टिबी फ्रि अभियान सफल पार्न अभियान्ताहरु समुदायमा नपुगि नहुनेमा जोड दिदै २०८३ साल भित्रमा टिबी फ्रि नगर घोषणा गर्ने गरी यो अभियान तिब्र पारेको बताउनु भयो ।
स्थानीय जनप्रतिनिधी श्यामकृष्ण नायजु श्रेष्ठले वडा टिबी फ्रि बनाउन स्वास्थ्यकर्मीहरु घरदैलोमा पुगि रहेको चर्चा गर्दै संक्रमण पुष्टि भएका विरामीहरुलाई नियमित औाषधी सेवन गराइरहेको बताए । उहाँले वडामा १८ जना संक्रमित हुन सक्ने आंकलन गरे पनि जम्मा ६ जना मात्रै संक्रमित फेला परेको बताए । पहिलो चरणमा वडाबासीहरुको खकार जचाइ कार्य सम्पन्न गरेको र परीक्षण ल्याबको थप व्यवस्थापनका साथ टिबी फ्रि अभियान सफल पार्ने कार्य जारी रहेको जनसञ्चार खवरलाई उहाँले बताए । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका मोहनकुमार राउट र आयोजक डब्लुसी डब्लुएसका श्रीकृष्ण बस्नेत सहितले सहजिकरण गरेका थिए ।













