भक्तपुर इनसाईड एण्ड आउट फोटो प्रदर्शनी सुरु
भक्तपुर, बैशाख २९ गते
बरिष्ठ फोटो पत्रकार मिन बज्राचार्यले परम्परागत शैलीको संस्कृति र जनजीवनलाई जिबन्त दर्साउन सूचना प्रविधिलाई भरपूर प्रयोग गर्न फोटो पत्रकारहरुलाई आग्रह गरेका छन् । भक्रपुरेन फोटोग्राफीले आज भक्तपुरमा आयोजना गरेको दुई दिने फाटोग्राफी भक्तपुर इनसाईड एण्ड आउट प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपालमा जनसख्या भन्दा दोब्बर मोवाईल भित्रिएसँगै नागरिक फोटो पत्रकारिता पनि मौलाएको चर्चा गर्नेक्रममा यसलाई अलिकति व्यविस्थत गर्ने हो भने हाम्रो मौलिक जनजीवन पनि झल्किने र प्रविधिको पनि भरपूर उपयोग हुने विश्वास व्यक्त गर्नु भयो ।
युवा फोटोग्राफर अमित बनमाला र अमेरिकन फोटोग्राफर डिजे हिनम्यानका ५० वटा फोटोहरुको संगालोलाई प्रस्तुत गरिएको सो फोटो प्रदर्शनीमा सन् २०१६ देखि २१सम्मको भक्तपुर जिल्लाको जनजीवन र सांस्कृतिक पर्वहरुका तस्विरहरुलाई पस्केका छन् । फोटोग्राफर बनमालाका रंगिन फोटो र हिनम्यानका श्यामस्वेत फोटोहरुलाई पर्यटन प्रवर्धनकालागि पनि उपयोगि हुने भक्तपुरेन फोटोग्राफिका सुदिप सुवाल बताउँछन् । सर्व साधारणलाई पनि खुल्ला हुने गरी दत्तात्रय मन्दिर परिसरमा रहेको डि क्याफेमा सो फोटो प्रदर्शनी भएको हो । फोटो मार्फत संसारमा भक्तपुरलाई चिनाउन सकिने भन्दै यस्तो खालको प्रदर्शनी जापानमा समेत आयोजना भइसकेको फोटोग्राफर अमित बनमाला बताउँछन् । विभिन्न देश घुम्दा भक्तपुर राम्रो लागेकाले यहाँको जीवनशैलीलाई फोटो मार्फत प्रस्तुत गर्न पाएकोमा पच्हत्तर वर्षीय फोटोग्राफर डिजे हिनम्यानले प्रसन्नता ब्यक्त गर्नु भयो ।















