सूचनाको हक : जनताको मौलिक अधिकार
भक्तपुर, बैशाख १६ गते
जनताको हक सुनिश्चत गर्न सूचनाको हक प्रत्याभूत हुनुपर्नेमा जोड दिंदै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जनताप्रति सरकारको जवाफदेहिता, जिम्मेबारीता, प्रजातान्त्रिक अभ्यास एवं सुशासनको अनुभूति गराउने माध्यम सूचनाको हक भएको बताउनु भएको छ । “सुचनाको हक र सार्वजनिक निकायको भूमिका” विषयक भक्तपुरमा आयोजित एक दिने कार्यशाला गोष्ठीको अवसरमा उहाँले सूचना नदिए उजुरी गर्न आग्रह गर्दै जनताले सूचनाको हकको प्रयोग गरी शासकहरुलाई कार्वाहीको दायरामा ल्याउन सकिने धारणा राख्नु भयो । उहाँले सूचनाको हक स्थापित गराउनमा राष्ट्रिय सूचना आयोगको भूमिका र स्थानीय सरकारको जिम्मेवारीबारे बताउनु भएको थियो । “प्रजातान्त्रिक मुलुकमा सरकार पारदर्शि हुनुपर्ने तर पारदर्शिताको अर्थ सबै कुरा खुलाउने नभई आवश्यक कुरा मात्र खुलाउने हो । सुचना दिने व्यक्तिको संरक्षण गर्नु सरकारको दायित्व हो ।” भनी आयोगका प्रमुख सूचना आयुक्त गुरुङको भनाई थियोे । त्यस्तै उहाँले सूचना माग्न आउँदा सम्पूर्ण व्यक्तिलाई सकेसम्म निःशूल्क सूचना प्रदान गर्न, सूचनाको हक प्रदान गर्न बजेट छुट्याउन, सूचनाको हक बारे सरोकारवालालाई मात्र नभई स्थानिय जनता, नागरिकलाई पनि प्रशिक्षण दिनु, जनचेतना अभिबृद्धि गर्न, कार्यालयमा छुट्टै शाखा खोल्न समेत सुझाव दिनु भयो ।

यसैबिच कार्यक्रममा फ्रिडम फोरमका कार्यकारी अध्यक्ष तारानाथ दाहालले सूचनाको हकको प्रचलनको ऐतिहासिक पृष्ठभूमि, अन्तराष्ट्रिय प्रचलन र स्थानिय तहको जिम्मेवारी र भूमिका बारे प्रष्ट पार्नु भएको थियो । अध्यक्ष दाहालले जनताले तिरेको राजस्वको पैसाबारे जनताले थाहा पाउने हक सम्बन्धि स्विडेन सरकारले कानुनमा व्यवस्था गरे पश्चात सूचनाको हक सम्बन्धि अवधारणाको विकास भएको र नेपालमा सर्वोच्च अदालतले तनकपुरको मुद्दामा तनकपुर सन्धिको बारे जानकारी उपलब्ध गराउनु सम्बन्धित निकायको दायित्व भएको हुनाले जानकारी प्रदान गर्नु भनी दिएको फैसला पश्चात सूचनाको हकसम्बन्धि व्यवस्थाको विकास भएको जानकारी दिनुभएको छ । उहाँले कार्यक्रममा सहभागिहरुको प्रश्नको जवाफ दिदैँ सूचनाको हक सम्बन्धि प्रतिपादित नौ अन्तराष्ट्रिय सिद्धान्तहरुबारे पनि प्रष्त पार्नुभएको थियो ।
यो सूचना प्रविधिको युग हो, सूचनालाई सजिलै लिने र दिने गर्रौ भन्दै सामुदायिक सारथी नेपालको आयोजनामा “सुचनाको हक र सार्वजनिक निकायको भूमिका” विषयक एक दिने कार्यशाला गोष्ठी मध्यपुुर थिमि नगरपालिका स्थित रोयल थाई हस्पिटालिटि, राधे राधे भक्तपुरको सभाकक्षमा शनिबार सम्पन्न भएको थियो । कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मध्यपुुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेडीले सरकारको काम कारर्बाहीको सूचना प्राप्त गर्नु सम्पूर्ण सार्वभौम जनताको अधिकार भएको भन्दै समयमा सूचना सम्प्रेष्ण गरी स्थानिय सरकारले जनताको सल्लाह सुझाव लिएर मात्रै कुनै पनि काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
सरकार भनेको के हो ? सरकार कस्तो हुनुपर्छ ? सूचना भनेको के हो ? भन्ने जस्ता विभिन्न प्रश्नहरुमा अन्तरक्रिया गर्दै आयोजक संस्थाका तारानाथ भण्डारीले सूचना सम्बन्धि हकबारे प्रष्ट पार्दै उहाँले संकेत, संवाद, शब्द, दृष्यचित्र जसलाई हामीले बुझ्न सक्छौ त्यही नै सूचना हो र सुचनाले सुतेको व्यक्तिलाई उठाउँछ, उठेकोलाई हिडाउँछ, हिडेको लाई दौडाउँछ भन्नु भयो । सरकारी निकायमा पारदर्शिता, जवाफदेहिता अभिबृद्धि गर्न सामाजिक द्वन्द कम गर्दै शान्ति र अमनचयन कायम गर्न सूचनाको महत्वपूर्ण भूमिका रहने भनि पनि बताउनु भयो ।
भण्डारीले जनतालाई आवश्यक सूचना प्रदान गर्नुपर्ने संविधान, नेपाल सरकार, ऐनद्वारा गठित जुनसुकै निकाय, संस्थान, प्रतिष्ठान, राजनैतिक दल, वैदेशिक सहयोग प्राप्त संस्थानको दायित्व हो र यस्ता निकायहरुले विभिन्न भाषाहरुमा प्रत्येक तीनतीन महिनामा कार्यालयले गरेका कामकारबाहीका बारे सूचनाहरु प्रकाशन गनुपर्ने व्यवस्था रहेको छ भन्दै उहाँले कसैले कार्यालयमा जुनसुकै माध्यमबाट सूचना माग गरेमा १५ दिन भित्र सूचना दिनुपर्ने सूचना अधिकारीको दायित्व रहेको र यदि सूचना नदिएमा राष्ट्रिय सूचना आयोगमा उजुरी गर्न सकिने, ढिलाई गरि सूचना दिएमा प्रतिदिन २०० का दरले जरिवाना लाग्ने कुरा पनि सहभागीहरु समक्ष जानकारी गराउनु भयो ।














