४५ औं शिक्षक दिवसको अवसरमा १२ औं शिक्षक अनुभव पुस्तक विमोचित
भक्तपुर, चैत्र २९ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले सेवा निवृत्त शिक्षक समाजको शैक्षिक अनुभव १२ औं अंग विमोचन गर्नु हुदै सहयोगिहरुलाई धन्यवाद पत्र वितरण गर्नु भएको छ । विस्का जात्रा एवं नयाँ वर्ष २०८० को अवसरमा समाजद्वारा आयोजित सभाको पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु हुँदै अध्यक्ष विजुक्छेले समाजको नैतिकस्तर विकास गर्न शिक्षकहरु निवृत्त भए पनि निरन्तर लागि रहनुपर्नेमा जोड दिनु भयो । औषधी र खानपानले जीवनस्तर बढेको चर्चा गर्दै अध्यक्ष विजुक्छेले बृद्ध भक्ताको दुरुपयोग रोक्न घर घरमै वितरणले सहज भएजस्तै शिक्षकहरुको पेन्सन बारे पनि ध्यानाकर्षण गराउनु भयो । निवृत्त भएर पनि अझै सक्रिय हुन विभिन्न विषयहरुमा बैचारिक रुपले छलफल अन्तरक्रियामा सक्रिय हुदै बितेको वर्षको समीक्षा र नयाँ वर्ष २०८० का योजनाहरु बनाएर शिक्षकहरु अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

सोक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष एवं पुस्तकका सम्पादक ज्ञानसागर प्रजापतिले पुस्तकमा प्रकासित विषयवस्तुहरुको जानकारी दिनु हुँदै शिक्षकहरुले आफ्नो सेवा कालका अनुभवहरुलाई स्मारिकामार्फत आदानप्रदान भइरहेको बताउनु भयो । समाजका अध्यक्ष अम्विका मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका कोषाध्यक्ष विश्वराम कवांले स्मारिका मार्फत निवृत्त शिक्षकहरुको विचारहरु सम्प्रेषण हुन सकेको भन्दै यसलाई निरन्तरता दिन समाजको कार्यालय सञ्चालनको तयारीका साथै आर्थिकरुपले पनि सबल बनाउने तयारी भएको जानकारी दिनु भयो । पूर्व अध्यक्ष नाती कवांले सेवा निवृत्त समाजको उदेश्यमाथि प्रकाश पार्दै शिक्षकहरुको हकहितका सवालहरुमा एकजुत हुन, संगठित रहन आग्रह गर्नु भयो ।
सो अवसरमा समाजका सचिव रामगोपाल कर्माचार्यले निवृत्त शिक्षकहरुलाई निवृत्ति भरणको व्यवस्था गरेको भए पनि प्रत्यक्ष रुपमा सहभागि हुनुपर्ने, छ छ महिनामा नविकरण गर्नुपर्ने प्रावधानहरुले विरामी र अशक्त्त भएका निवृक्त शिक्षकहरुको समस्या सम्बोधन हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष विजुक्छेबाट धन्यवाद ज्ञापन पत्र बुझै भक्तराजभण्डारीले भक्तपुर शैक्षिक क्षेत्रमा देशकै नमूनाको रुपमा अगाडी बढेको उल्लेख गर्दै सेवा निवृत्त शिक्षकहरुले पनि उदाहरणीय काम गर्दै आएको चर्चा गर्नु भयो । कार्यक्रममा बागीश्वरी माविका प्रधानाध्यापक केपी धन्छाले शिक्षक दिवसको सन्दर्भ बारे प्रकास पार्दै समस्यामा रहेका स्कूल र शिक्षकहरुका लागि सेवा निवृत्त शिक्षक आशा र भरोसाको केन्द रहेको बताउनु भयो । सो कार्यक्रममा निवृत्त शिक्षक तुल्सीराम ग्वाछाले पनि बोल्नु भएको थियो ।















