जिल्ला प्रशासनबाट भक्तपुरमा बजार अनुगमन तीव्र, रु. १०,०००सम्म जरीवाना
भक्तपुर: असोज १२ गते
भक्तपुर जिल्ला अनुगमन समितिका संयोजक जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा बुधबार भक्तपुर जिल्लामा रहेका आठवटा दूध डेरीमा अनुगमन गरिएको छ ।
अनुगमन गरेका आठ वटा डेरीमध्ये शिवम डेरीले अफिसको साँचो नभएको र प्रोप्राइटर उपस्थित नभएको भन्दै केही जानकारी दिएन । सो डेरी बाहेक ओम संजिवनी डेरी, कालिका डेरी, भक्तपुर डेरी, जगदम्वा डेरी, जय संजिवनी डेरी, जय शम्भु डेरी र सैजु डेरी उद्योगहरूको उद्योग दर्ता प्रमाण–पत्र खाद्य अनुज्ञा–पत्र, पान नंं., ल्याव टेष्टसहितको रिपोर्ट नियमित नवीकरण गरेको पाइएको छ भने अधिकांश डेरीहरू पहिला भन्दा धेरै सुधारिएको पाइएको अनुगमन समितिका संयोजक शर्माले जानकारी दिए ।
यसैगरी, शिवम् डेरीको उद्योग दर्ता प्रमाण–पत्र, खाद्य अनुज्ञापत्र, पान नंं., ल्याब टेष्टसहितको रिपोर्टको सम्पूर्ण कागजातहरू लिई घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा ३ दिन भित्र उपस्थित हुन निर्देशन दिइएको छ। ओम संजिवनी डेरीमा दुध रिसिभ गर्दा तापक्रमको अभिलेख राख्ने, दहीको प्लास्टिकको वट्टा प्रशोधन गरेर मात्र प्रयोगमा ल्याउने, बाल्टिनमा प्याकिङ्ग पश्चात शिल लगाउनुपर्ने सुझाव दिइएको छ ।
सैंजु डेरीमा प्याकेजिङ्ग मेशिनको यूभिलाईट आश्विन १४ गते शुक्रबार भित्र मर्मत गरी प्रयोग गर्ने, दहीको वट्टालाई प्रसोधन गरेर मात्र प्रयोगमा ल्याउन, दुध रिजभ गर्दा र प्रशोधन गर्दा दुरुस्त नियमित रुपमा परीक्षण गरी अभिलेख राख्नुपर्ने, दुध र दहीको ३÷३ महिनामा परीक्षण गर्नुपर्ने र सल्फ्युरिक एसिड एनालाइसिस ग्रेटको प्रयोग गर्नु पर्ने सुझाव दिइएको छ ।
जय शम्भु डेरीमा गोदाम सरससफाई गर्ने, प्याकिङ्ग मेशिनमा यूभिलाइट जडान गरि प्याकिङ्ग गर्न निर्देशन दिएको छ । जय शम्भु डेरीमा म्याद नाघेको १८० लिटर दही रु. १८,९००।– बराबर दही जफत गरी नष्ट गरियो भने दुधको गुणस्तर परीक्षण गरी मात्र बजारमा लानुपर्ने, बजारमा पु¥याएको दही दुध फिर्ता नहुने व्यवस्था गर्नु पर्ने, प्रोसेसिङ्ग उद्योगमा भित्र नियमित सरसफाई गर्ने दहीका भाँडाहरू सफाई नगरी प्रयोग गर्न नहुने, प्रोसेसिङ्ग रुम भित्र सरसफाई, लामखुट्टे जस्ता किरा देखिएकोले सरसफाई गर्नुपर्ने र उपभोक्ता संरक्षण ऐन २०७५ को विभिन्न दफा उल्लंघन गरेकोले उक्त डेरीलाई रु. १०,००० (दश हजार) जरिवाना गरिएको छ । साथै ३ दिन भित्र जिल्ला प्रशासनमा उपस्थिति हुन निर्देशन दिएको छ ।













