गायक  रोशनको “पीडा” सार्वजनिक

गायक  रोशनको “पीडा” सार्वजनिक
भक्तपुर, श्रावण २६ गते
युवा गायक रोशन धौभडेलको स्वरमा नयाँ गीत “पीडा” आज विमोचन भएको छ । नेपालका पहिलो ड्रमर देव राणाले सार्वजनिक गरेको धौभडेलको पीडा विदेशमा बसेकाहरुको मनको पीडालाई श्रब्यदृष्य मार्फत पस्किएको हो । गीतकार उत्कल चालिसेको शब्दमा “पीडा” गीतको म्युजिक भिडियो आभाश्री प्रोडक्सनले बजारमा ल्याएको हो ।
भिडियो सार्वजनिक गर्दै आजै युट्युव च्यानलमार्फत दर्शकहरुको बीचमा पुर्याउने गायक धौभडेलले बताए ।

“पीडा” भिडियोलाई सार्वजनिक गर्दै ड्रमर देव राणाले मानिसको मन भित्र भित्र पीडा लुकेर रहने भन्दै पीडा जीवनको अभिन्न अंग समेत रहेको बताए । गायक धौभडेलले मनको पीडा बाहिर ल्याएर मनभित्रको पीडा महसुस गराएको बताए । “पीडा” गीत सामान्य जस्तो भएपनि उत्कृष्ठ रहेको भन्दै राणाले शब्दलाई स्वर र संगित मिलाएर दर्शकको बीचमा पुयाउँनु संगितकार, गीतकार र गायकको खुवी प्रशंसनीय भएको बताए ।
वरिष्ठ गीतकार सुवासचन्द ढुंगेलले हामी सबैलाई स्वर्ग जान रहर भए पनि मर्न तयार नहुने तर नमरी स्वर्ग जान नपाउने बताए । विदेशीएकाहरुको फोटो र भिडियो हेर्दा राम्रो देखिए पनि तिनीहरुमा पनि पीडा छ भन्ने सन्देश “पीडा” गीतबाट प्रस्तुत भएको उहाँले बताए । भक्तपुरमा पनि यसरी गीतमार्फत सन्देश प्रस्तुत गर्ने धेरै गीतकारहरु जन्मिन थालेकोमा खुसी भए पनि भक्तपुरका गीतहरुलाई काठमाण्डौको गीतसँग फिजन गर्न नजाँदा गीत राम्रो भए पनि चर्चित हुन नसकेको विश्लेषण उहाँको थियोे । यद्यपी कालान्तरमा भक्तपुरको गीतहरु पनि चर्चित र चर्चामा आउने विश्वास व्यक्त गर्नु भयो । चोत र पीडाले भरिएका गीतको शब्द शब्दहरु पनि दर्शकले याद गर्ने उहाँले बताए ।
चर्चित संगीतकार एवं गायक राजनराज सिवाकोटीले “पीडा” गीत सुन्दा सुरु सुरुमा कस्तो कस्तो लागे पनि हेर्दै जादा राम्रो लाग्न थालेको बताए । परदेशमा रहेका नेपालीको पीडालाई गीत मार्फत राम्रोसँग पस्किन सकेको, गीत सिम्पल, शब्दको भावसँग मेल खाने गहिराईमा पुगेको बताए । गायक धौभडेलको ब्यक्तिगत प्रतिभा “पीडा” गीतमार्फत राम्ररी प्रस्तुत भएको बताउँदै पूर्णता भनेको कहिल्यै नहुने, कमजोरी सच्याउँदै जानुपर्नेमा जोड दिनु भयो । नाच्ने गाउँने गीतले लोकप्रियता पाएको बेला बास्तविकतामा आधारित गीतलाई पनि दर्शक श्रोताले मन पराउँदै जाने विश्वास उहाँले ब्यक्त गर्नु भयो । आधुनिक सुगम गीत सुन्न मन पाएपनि विस्तारै छाँयामा पर्दै गएको कारण गीत संगीतकार, गायकहरुले मेहनत गर्न छोडेको उहाँको टिप्पणी थियो ।
गीतकार चालिसेका दाजु शिशिर चालिसेको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविण शाहीले गरेका थिए ।