आर्थिक चलखेलमै यातायात कार्यालय जगातीबाट राधे राधे सार्दै, व्यवसायीद्धारा बिरोध

आर्थिक चलखेलमै यातायात कार्यालय जगातीबाट राधे राधे सार्दै, व्यवसायीद्धारा बिरोध
भक्तपुर, २६ असार । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स बितरण कार्य गर्दै आएको ‘यातायात व्यबस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भए पछि बिरोध भएको छ ।
यातायात व्यबस्था कार्यालय जगातीको प्राङ्नमा आज स्थानीय व्यबसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउने बित्तिकै कार्यालय सार्ने भएको बताएका छन् ।
सूर्यविनायक नगरपालिका–८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यबस्था कार्यालय’ पाँच वर्ष पछि राधे राधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्प अगाडि बनेको पुरानो घरमा सर्ने भएपछि यहाँका बासिन्दा एवं लेखापढी व्यवसायीले बिरोध गरेका हुन् ।
आज यातायात कार्यालयको प्राङ्नमा स्थानीय व्यबसायी एवं लेखापढी व्यवसायीले ठूलो आर्थिक रकमको चलखेलमा यातायात कार्यालय अनुपयुक्त घरमा सर्न लागेको भन्दै बिरोध गरेका हुन् ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्ड भित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आए लगत्तै ठूलो रकमको चलखेल गर्दै कार्यालय सार्न लागेको बताउनु भयो ।
कार्यालयका प्रमुख भट्टराईसँग घर भाडा सम्झौता नविकरणमा आर्थिक लेनदेनको कुरा नमिले पछि बिना सूचना र कोटेशन समेत आव्हान नगरी थिमिस्थित माइक्रोबस पार्कमा कार्यालय सार्नुले आथिएक लेनदेनको चलखेल भएको पुष्टी भएको उहाँले बताउनु भयो ।
कार्यालयले कुनै पनि नयाँ घरमा जानु अगाडि निश्चित समय तोकेर सार्वजनिक सूचना जारी गर्नु पर्नेमा कुनै सूचनानै जारी नगरी एकलौटी रुपमा भाडा मूल्यांकन समितिलाई समेत प्रभावमा पारेर अनुपयुक्त घरमा कार्यालय सार्न लगाएको पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक कार्कीले आरोप लगाउनु भयो ।


कार्यालय सार्न खोजेको घर भूकम्प अगाडि बनेको, साँघुरो घर, मापदण्ड भन्दा साना कोठा एवं भ¥र्याङ रहेको, पर्याप्त पार्किङ तथा खुल्ला ठाउँ नभएको र सेवाग्राहीका लागि उपयुक्त नहुने साँघुरो ठाउँमा कार्यालय लान लागेको भन्दै उहाँले स्थानीय व्यवसायी एवं लेखापढी व्यबसायीसँग समेत कार्यालय प्रमुखले मासिक रकम माग गरेको आरोप लगाउनु भयो ।
जगातीमा कार्यालय स्थापना भएपछि कार्यालय प्रमुखका रुपमा आउनु भएका अनोज घिमिरे, किरण ढकाल, शशी शेखर महर्जन, राजकुमार कपालीको पालामा यही घर उपयुक्त भए पनि नयाँ कार्यालय प्रमुखका रुपमा भट्टराई आए लगत्तै कार्यालय भवन अनुपयुक्त भन्दै सार्ने चलखेल गरेको पत्रकार सम्मेलनमा व्यवसायी गोकूल वनले बताउनु भयो ।
मध्यपुरथिमिको राधे राधे (वाग्मति आयल स्टोर) पछाडि नै एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एक तले भवन र जग्गा हुँदा हुदै त्यो जग्गामा समेत कार्यालय नसारी बिधि र प्रक्रिया समेत पुरा नगरी कार्यालय सार्ने भएको उहाँको भनाइ छ । कार्यालय प्रमुख भट्टराई, सोही कार्यालयका अधिकृत छैठौँ प्रशासन शाखाका गोविन्द शिवाकोटी र कृष्ण निरौलासमेतको मिलेमतोमा आर्थिक चलखेलकै कारण घर भाडा मूल्याङ्कन समितिलाई समेत गलत निर्णय गर्न लगाएको लेखापढी व्यवसायीको आरोप छ ।
‘यसअघि यातायात कार्यालय एकान्त कुना ललितपुरमा समेत आर्थिक चलखेल गरेको र केही महिना अगाडि सेवाग्राहीको फाइलनै गायब बनाएर पुल मुनी फाइल भेटिएको जस्ता काण्डले विवादमा मुछिएर भक्तपुर सरुवा भएर आए लगत्तै यिनै भट्टराईले यातायात कार्यालय नै सार्ने गरि चलखेल सुरु गर्नुले पनि आर्थिक चलखेल भएको पुष्टी गर्दछ ।’ संघर्ष समितिद्धारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ ।
त्यतिमात्रै नभई सेवाग्राहीका लागि रु. ४० मा सञ्चालन भइरहेको स्वास्थ्य परीक्षण कार्यको सम्झौतासमेत एकतर्फी रुपमा रद्ध गरेर कार्यालय प्रमुख भट्टराईले प्रति व्यक्ति रु. ६० लिने गरि अर्को पक्षलाई दिएको व्यवसायीले बताएका छन् ।
पत्रकार सम्मेलनमा व्यवासायी शिवनारायण ग्वाछाले सरकारको लाखौको लगानी, यहाँ १०० भन्दा बढी व्यवसायीले सञ्चालन गरेको करोडौको लगानीको व्यवसाय समेत नोक्सानमा परेको भन्दै उहाँले सेवाग्राहीलाई मर्कामा पर्ने गरि कार्यालय नै सार्नुले पनि आर्थिक चलखेल भएको पुष्टी हुने बताउनु भयो ।
सूर्यविनायक नगरपालिका–८ गुण्डुमा यातायात कार्यालयको आफ्नै भवन बनाउने प्रक्रिया सरकारले अगाडि बढाइसकेको र यहीँ वर्षबाट भवन निर्माण कार्य अगाडि बढाउने अबस्थामा केही वर्षका लागि कार्यालय सार्न खोज्नु रहस्य भएको पत्रकार सम्मेलनमा बताइएको छ ।