श्रध्दाञ्जली शोभा भाउजू ! दिवंगत प्रधानप्रति सकोलनबासीहरुको श्रद्धाञ्जली

दिवंगत प्रधानप्रति सकोलनबासीहरुको श्रद्धाञ्जली
भक्तपुर, २१ असार । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका श्रध्देय अध्यक्ष नारायणमान विजुक्छें(रोहित)का जीवन संगिनी, नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको श्रध्दाञ्जली कार्यक्रम उहाँको तस्बिरमा माल्यार्पण र फुलको गुच्छा अर्पण गरी सकोलान थाथुसःसकोलन एक समारोहबीच मंगलबार सम्पन्नभयो ।
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शोभा प्रधानको योगदान र उहाँले गरेको राम्रो कामको जानकारी लिन श्रध्दाञ्जली सभा सार्थक हुने बताउनुभयो । उहाँले शोभा भाउजुले भोगेका दुःख र अनुभब सुनेर उर्जा र शक्ति प्रदान हुने बताउनुभयो । उहाँले क्यान्सर रोगले मृत्युवरण गर्नुपरेकोले हरेकले बर्षको एकचोटी स्वास्थ्य परिक्षण गराउन र स्वास्थ्य प्रति सचेत हुन अनुरोध गर्नुभयो । उहाँले क्यान्सर भित्रि रोग भएकोले सचेत हुनुपर्ने र रोग लाग्दैमा डराउनु नपर्ने बरु समयमा नै उपचार गरे निको हुने बताउनुभयो । उहाँले नेवाल लगायत मतवाली जातका मानिसहरुसंग घाटीमा, निहुँरिएर काम गर्नेसंग पेटमा, खानपानले ठूलो आन्द्रामा क्यान्सर हुने बताउनुभयो । उहाँले मनोबल कमजोर भएछि रोगले झन च्याप्ने भएकोले मनोबल बढाउन परिवारले साथ सहयोग गर्नुपर्ने, कोठा भित्र सिमित नराखी खुल्ला क्षेत्रमा हिड्डुल गराउन बाहिर ल्याउनुपर्ने बताउनुभयो । उहाँले शोभा भाउजु विरामी अवस्थामा समेत आन्दोलनमा सरिक भई जेलनेल समेत भोगेका साहशीक व्यक्ति भएको बताउनुभयो । उहाँले आफ्नो शिक्षक पेशाबाट अवकाश हुँदा विद्यालयमा आर्थिक कमजोर लगायतलाई उपचार गराउन र उपचारबाट कोहिपनि बञ्चित हुन नपरोस् भनि उपचार कोष खडा गरी दुई लाख रुपैंया सहयोग गरेका थिए भन्नुभयो । उहाँले हामीसबै एकजुत भई शोभा भाउजुको अधुरा सपना पुरा गर्न संघर्ष गर्नु बताउनुभयो । उहाँले नयाँ पुस्ता विकृति विसंगति तर्फ दोहरिरहेकोले त्यसबाट टाढा राखी असल नागरिक तयार गर्न सबै अभिभावकहरुले आफ्नो बालबालिकालाई संगठनमा राख्नु पर्ने बताउनुभयो ।


कार्यक्रममा नेमकिपा भनस प्रतिनिधि जितेन्द्र मुनांकर्मीले २०४० सालमा विवाह भएदेखि नजिक रहेर काम गर्दा उहाँ असल गृहणी, २०४५ सालको भक्तपुर काण्डमा तानाशाही पंचायती व्यवस्थाले दमन गर्दा पनि अविचलित भई कानुन व्यवसायी र मानव अधिकारीवादीहरुको सहयोगमा त्यतिवेला नै पंचायत विरुद्ध पत्रासम्मेलन गर्ने निडर महिला भएको बताउनभुयो । उहाँले शोभा भाउजुलाई क्यान्सर लागेदेखि उपचारको अन्तिम अवस्थासम्म भए गरेका संघर्षका कुराहरु बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ समन्वय समितिका संयोजक कृष्णभक्त लवजूले पार्टी अध्यक्षको श्रीमति भएर मात्र होइन नेमकिपाको उदेश्य पुरा गर्न काम र योगदान गरेकोले आज शोभा भाउजुको श्रद्धाञ्जली गरिरहेको बताउनुभयो । उहाँले रोगसंग जुझ्न सक्ने व्यक्ति, भक्तपुर काण्डमा दृढ अडानका साथ निडर भई गरेका कार्यहरु, राजनीतिक कार्यकर्ताहरुलाई गर्ने मिजासिला स्वभाव र सहयोग, अतिथि सत्कार र गृहणीको रुपमा गरेका कामबाट हामीले धेरै कुरा सिक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका प्रतिनिधि रत्ना चवालले पार्टी अध्यक्षले श्रीमति भएर पदको लाभ कहिले नलिएको बताउँदै मुस्कान सहितको गृहणी, सरल स्वभाव र सरल खानपान, कम खर्चालु र स्वास्थ्य प्रति सचेतनाले गर्दा जनताको निम्ति स्वास्थ्य शिविर र क्यान्सर उपचार बारे बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा सचिव रामकृष्ण प्रजापति, पूर्व वडाध्यक्ष विष्णु बहादुर मानन्धर, नेक्रामहिलासंघ भनपा ९ दत्तात्रय समितिका सचिव कृष्णश्वरी दुवालले पनि बोल्नु भएको थियो । उक्त कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका सचिव रामकृष्ण प्रजातिले श्रद्धाञ्जली शोभा भाउजु ! कविता प्रस्तुत गरेको थियो । उक्त कविता यहाँ प्रस्तुत छ ।

श्रध्दाञ्जली शोभा भाउजू !

 रामकृष्ण प्रजापति
मिति पुग्यो लग्यो टारेर टर्दैन
मृत्यु कस्तो हुन्छ
र मृत्युमा को को आफ्नो हुन्छ
क्यान्सरलाई जितेर बसेकी शोभा भाउजु
मृत्युसित हार्नुपर्छ भनेर
न दोष थियो न खोट थियो
माक्र्सका जीवनसंगिनी जेनी माक्र्स जस्तै अल्पायुमै बिलायो ।

सादा जीवन उच्च विचार तिक्ष्ण दिमाग
सुन्दर, शान्त र असल परिवार त्यस्तै थियो समाज
शोभा भाउजूको दिवंगतले यहाँ भयो सारा भावविह्वल ।

कठै भाउजूको सम्झना जेलका चिठीहरुमा आइरहन्छ
मजदुर र किसानबिचमा भाउजुको सधैं चर्चा भइरहन्छ
कठै भाउजुको सम्झना स्वास्थ्य शिविरमा आइरहन्छ
श्रमिक महिलाहरुमा भाउजु बिना टुहुरो भईरहन्छ ।

आत्मसात गर्दै,
राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी
भक्तपुर काण्डबाट विचलित नभई
मैन आफूलाई तिलाञ्जली दिई
सलेदोमा जीवन भरी
समाजलाई उज्यालो छरिरहन्छ शोभा भाउजू ।

समाज परिवर्तनका संबाहक बने भाउजूको रहर
भाउजूबिना कस्तो भयो होला यहाँ महिला लहर
भयो यहाँ सबैतिर आपत्कालीन शोकमग्न
सारा जनता उत्रियो भक्तपुर शव यात्रामा श्रध्दाञ्जली दिन ।

महिलाहरुको आँखाको नानी
बिद्यार्थीहरुको गुरुआमा
युवाहरुको प्यारो भाउजू
कहिलै नफर्कने गरी
साराजनताको आँखाको परेला भिजाई
मजदुर किसानहरुलाई भावबिव्हल बनाई
शवयात्रामा आउने सबैलाई रुवाइ
गयौ श्रध्दाञ्जली लिई कहिलै नफर्कने गरी ।

दोष त त्यो क्यान्सरको थियो
मृत्यु बनेर त्यो अस्पताल
भाउजूको पदचाप मेटाउन
त्यसले देखेन बरिष्ठ राजनीतिज्ञका जीवन संगिनी
त्यसले बुझेन महिलाहरुको चित्कार
उसले सोच्दै सोचेन महिलाहरुको स्वास्थ्य शिविर
उसले बुझ्दै बुझेन महिला मुक्तिका कामहरु
उसले सुन्दै सुनेन बर्गिय मुक्तिका आवाजहरु ।

त्यसैले,
शोकलाई शक्तिमा बदलेर
शोभा भाउजूका अधुरा कामहरु
आन्तराष्ट्रिय महिलावादी क्लारा जेट्किन बनेर
समाजवादी नेतृ नादेज्दा क्रुप्सकाया बनेर
क्रान्तिकारी महिला रोजा लक्जेम्बर्ग बनेर
पूरा गर्नुछ आर्दश समाज बनाएर ।
धन्यवाद !
 रामकृष्ण प्रजापति