बागीश्वरीमा शिक्षिका शोभा प्रधानको श्रद्धाञ्जली सभा

शिक्षिका शोभा प्रधानको श्रद्धाञ्जली सभा
२०७९ २०७९ असार ११ गते, शनिबार
बागीश्वरी माध्यमिक विद्यालय तथा बागीश्वरी कलेजको संयुक्त आयोजनामा शनिबार बागीश्वरी माविका पूर्व शिक्षिका, बागीश्वरी मावि कलेज व्यवस्थापन समितिका सदस्य शोभा प्रधानको स्मरणमा श्रद्धाञ्जली सभा भयो । सभामा भक्तपुर नपाका प्रमुख एवम् बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, वडा नं। ९ का वडाध्यक्ष तथा बागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र ज्याख्वलगायत उपस्थित सबैले दिवंगत प्रधानको तस्बीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।


सभामा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपाल क्रान्तिकारी महिला संघका कोषाध्यक्ष रहनुभएका का। शोभा प्रधान सबै कार्यकर्ताहरुबीच प्रेरणाको स्रोतको रुपमा रहनुभएको बताउनुहुँदै शिक्षा क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान अविस्मरणीय र उल्लेखनीय भएको बताउनुभयो । का। प्रधानको संघर्षमय जीवन स्मरणीय भएको उल्लेख गर्नुहुँदै उहाँले क्यान्सरजस्तो खतरनाक रोगबाट वर्षेनि लाखौं जनताले अकालमै ज्यान गुमाइरहनुपरेको यथार्थबारे प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले नगरका १० वटै वडाहरुमा क्यान्सर रोग परीक्षणबारे शिविरहरु सञ्चालन गर्दै सर्वसाधारण जनतालाई रोगबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु समेत गर्दै आइरहेको बताउनुभयो ।
सभामा भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले क्यान्सर पूर्ण रुपमा निको हुने रोग नभएको हुँदा रोग लाग्नुभन्दा अगाडि नै सबैले आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुहुँदै बागीश्वरी माविको विकास र शिक्षा प्रवद्र्धनमा उहाँको नेतृत्वदायी भूमिका अनुकरणीय भएको बताउनुभयो । उहाँको संघर्षमय जीवन सबैको निम्ति प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षिका सुशिला कर्माचार्यले शोभा प्रधानसँगको आफ्नो अनुभव सुनाउनुहुँदै उहाँ व्यवहारिक र सहनसिला महिला भएको र राजनीतिक रुपबाट पनि सक्रिय क्रान्तिकारी नेतृको रुपमा रहनुभएको बताउनुभयो ।
सभामा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले उहाँको व्यक्तित्वबारे प्रष्ट पार्नुभएको थियो भने कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।