भक्तपुरमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आज भक्तपुरको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले भोलि शुक्रबार हुने निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । भक्तपुरमा स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल पुगेका मतदान अधिकृतहरुको टोलीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनको आवश्यक तयारी सुरु गरिसकेको छ । भक्तपुरमा ७७ मतदान स्थल र २१९ वटा मतदान केन्द्र छन् । भक्तपुर नपामा १६ मतदान स्थल र ६२ मतदान केन्द्र, चाँगुनारायण नपामा २१ मतदान स्थल र ५३ मतदान केन्द्र, सूर्यविनायक नपामा २३ मतदान स्थल र ५८ मतदान केन्द्र तथा मध्यपुरथिमि नपामा १७ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा जम्मा एक लाख ८९ हजार ५८४ मतदाता सङ्ख्या रहेका छन् । भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०४, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४३ जना रहेका छन् ।













