तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रजिअको आग्रह
भक्तपुर, फागुन ५ गते
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । जिल्लाका कार्यालय प्रमुखहरुको आज बसेको बैठकमा अध्यक्षता ग्रहणगर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फगुन ६, ७ र ८ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेका हुन । सो दिनहरुमा साँझ दिपावली गर्ने, राष्ट्रिय झण्डा फरफराउने लगायत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको हो । फागुन ६,७ र ८ गते हुने विभिन्न कार्यक्रमहरुलाई प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने गरी ब्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी शर्माले सहभागिहरुमा आग्रह गरेका छन् ।

विगतका वर्षहरुमा झै जिल्लामा रहेका सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघ संस्था, शैक्षिक प्रतिष्ठान तथा जिल्लावासीहरुले प्रजातन्त्र दिवस हर्षोउल्लासपूर्वक मनाउन भनिएको हो । सो अवसरमा सार्वजनिक निकाय, स्थलहरुको सरसफाई गर्ने तथा सम्भाव्य स्थलहरुमा राष्ट्रिय झण्डा राखि सौन्दर्यीकरण अभिवृद्धि गर्ने जनाएको छ । यसै बीच प्रजातन्त्र दिवसको अवसरमा पत्रपत्रिका एवं विद्युतीय सञ्चार माध्यमहरुमार्फत राष्ट्रिय प्रजातन्त्र दिवस सम्वन्धि सन्देशमुलक सामग्री प्रचार प्रसार गर्न पनि आग्रह गरेको छ ।
यसै गरी नेपाल रेडक्रस सोसाईटी भक्तपुरले प्रजातन्त्र दिवसको अवसरमा भक्तपुर अस्पताल लगायत विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरी प्रजातन्त्र दिवस मनाउने जिम्मेवारी लिएको छ । फागुन ७ गतेको प्रजातन्त्र दिवसकै दिन रेडक्रस भक्तपुरको स्थापना दिवस परेकाले विशेष कार्यक्रम गरी स्थापना दिवसका साथै प्रजातन्त्र दिवस पनि मनाउने रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने स्वास्थ्य मापदण्ड अपनाएर दिवस केन्द्रीत विभिन्न सांस्कृतिक, साहित्यक, शैक्षिक सम्बद्ध सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गर्न सम्बद्ध निकायलाई अनुरोध गरेको छ ।
यसै बीच भक्तपुर जिल्लाका विभिन्न नगरपालिका एवं सरकारी कार्यालयहरुमा कार्यालय प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सरुवा भई भक्तपुर आएका महानुभावहरुलाई आज प्रमुख जिल्ला अधिकारी शर्माले खाडा ओडाई र टिका लगाई स्वागत गरेको छ ।














