कोरोना महामारी कम हुँदै गए पनि दैनिक उपभोग गर्ने सामग्रीको मूल्य ५० प्रतिशत भन्दा बढिले वृद्धि ।।
दैनिक उपभोग गर्ने सामग्रीको मूल्य ५० प्रतिशत भन्दा बढिले वृद्धि भएका छन् । खानेकुराको मात्रै नभई घर चलाउन आवश्यक पर्ने हरेक सामानको मूल्य बढेको छ । कोरोना महामारी कम हुँदै गएपछि बजार पसल खुले पनि सामानको मूल्य भने अस्वभाविक रुपमा बढेको उपभोक्ताहरूको गुनासो छ । अहिले कपडा, जुत्ता चप्पल, साबुन, स्याम्पु लगायत सौन्दर्यका सामग्रीको मूल्य समेत बढेको छ । मासिक ३० हजार कमाउने विरगञ्जका मन्सुर आलमले महङ्गी बढेपछि घर खर्च चलाउनै मुस्किल परेको गुनसोा गर्नुभयो । काठमाडौं, शङ्खमुलका व्यवसायी प्रविना राईले बढ्दो महङ्गीले व्यापारमा घाटा हुन थालेको बताउनुभयो । थोक विक्रेताबाटै २० प्रतिशतसम्म बढि मुल्य तिरेर सामान ल्याउनु पर्ने बाध्यता रहेपछि बेच्ने बेलामा मूल्य महङ्गो भन्दै ग्राहक फर्किने गरेको उहाँको भनाइ छ । महङ्गी बढ्नुमा विश्व अर्थतन्त्रमा परेको कोरोनाको असरलाई हेरिएको छ । व्यापारीहरु भने विदेशबाट आयातित बस्तुमा सरकारले बढाएको करलाई महङ्गी बढ्नुको कारण ठान्छन् । पछिल्लो समय कपडा, जुत्ता चप्पल र सौन्दर्यसँग जोडिएका सामानको मूल्य ५० प्रतिशतसम्म बढेको छ । बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन भइरहेको बताउनुभयो । आयातित बस्तु प्रतिस्थापन गर्न स्वदेशी उत्पादनमा जोड दिन सके पनि दिर्घकालिन हिसाबले महङ्गी घटाउन सकिने पूर्व अर्थ सचिब सुमन शर्माको भनाइ छ । दैनिक बजार अनुगमन सरकारको प्राथमिकतामा परे पनि महङ्गी नियन्त्रणमा आउन सकेको छैन । जसले कोरोना पछि मजदुरी गुमाएकाहरू सबैभन्दा मारमा परेका छन् ।











