१७ माघ २०७६
भक्तपुर,
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी प्रभाग दुधपाटी भक्तपुरसंगको सहकार्यमा नेपाल प्रहरी ट्राफिक महाशाखाका पूर्व प्रहरी निरिक्षक सिताराम हाछेथुको संयोजकत्वमा लिटिल वल्र्ड इङ्गलिश स्कुलको आयोजनामा संचालित १ दिने सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । कक्षा ७ देखि ९ सम्मका छात्रछात्राहरु, विद्यालयका शिक्षकहरुको सहभागितामा संचालित अभिमुखिकरणमा ६७ जनाको उपस्थिति रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा नेपाल प्रहरी ट्राफिक महाशाखाका पूर्व प्रहरी निरिक्षक सिताराम हाछेथुले ट्राफिक नियम सम्बन्धि तथा सडक सुरक्षा सम्बन्धि भिडियो प्रर्दशन गर्नुका साथै सहभागिहरुसंग अन्र्तक्रिया, सामुहिक छलफल र प्रश्नोत्तर पनि गर्नुभएको थियो । उहाँले विद्यार्थी भाइ बहिनीहरु मार्फत अभिमावकहरुमा ट्राफिक नियमबारे चेतना अभिबृद्धि गर्नको लागि यस्ता कार्यक्रम सहयोगी हुने बताउनुहुदै स्वयंसेवी रुपमा सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि कक्षाहरु उपत्यकाका विभिन्न विद्यालयहरुमा संचालन भइरहेको कुरा जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले कार्यक्रममा उपस्थित भई अभिमुखिकरण कक्षा संचालन गर्नुभएकोमा पूर्व प्रहरी निरिक्षक सिताराम हाछेथु, प्रहरी सहायक निरिक्षक शम्शेर बहादुर श्रेष्ठ, प्रहरी जवान नवराज श्रेष्ठलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो । उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयले आगामी दिनमा पनि नेपाल प्रहरीसंगको सहकार्यमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।
त्यसैगरी आजै लिटिल वल्र्ड इङ्गलिश स्कुलका विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा चोङ्गा गणेश मन्दिर परिसर सरसफाई गरियो । सरसफाई कार्यक्रममा कक्षा ७ का छात्र तथा छात्राका साथै शिक्षकहरु गरी २७ जनाको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले मन्दिर परिसर वरपरका फोहरहरु संकलन गरी कुहिने र नकुहिने छुट्टयाएर ब्यवस्थापन गरीएको थियो । विद्यार्थी भाईबहिनीहरुमा समाजिक तथा स्वयंसेवी भावनाको विकास गराई समुदाय प्रति उत्तरदायित्व बनाउने उद्धेश्यले विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्र्तगत सामाजिक विकासका कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आएको कुरा विद्यालयका सहायक प्रिन्सिपल उत्तरकुमार चवेगुले जानकारी दिनुभयो ।














