कोरोना सङ्क्रमण ; उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटे ।

कोरोना सङ्क्रमण ; उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटे ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८  प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ ।
काठमाडौँ उपत्यकाका ३२ लाख ४७ हजार ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ । मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौँ जिल्लामा पहिलो मात्रा ५१।५ प्रतिशतले र ४८।७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका बताउनुभयो । काठमाडाँै जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या १५ लाख ६२ जना हो ।
त्यस्तै ललितपुरमा ४९।७ प्रतिशत पहिलो मात्रा र ४५।४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन् । ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६  हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो । यसरी हेर्दा ढिलोमा दसैँसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ ।