नेपाल रेडक्रसको ५९ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन र झण्डातोलन
भक्तपुर, भाद्र १९
जहाँ दुःख त्यहा रेडक्रस नामले परिचित नेपाल रेडक्रस सोसाईटीले आज विभिन्न कार्यक्रम गरी ५९ औं स्थापना मनाएको छ । विक्रम सम्बत २०२० भाद्र १९ गतेमा स्थापना भएको नेपाल रेडक्रसले कोरोना संक्रमणका कारण अनलाईनबाट विभिन्न कार्यक्रम आयोजना गरी स्थापना मनाएका हुन । नेपालको परोपकारी संस्थाको रुपमा पनि परिचित यस संस्थाले यस वर्षको नारा निरन्तरता राखेको छ । देशका ७७ वटै जिल्लामा फैलिएको सो संस्थामा १ हजार ६ सय उपशाखाहरु र ६ हजार भन्दा बढी जुनियर युवा सर्कल रहेका छन् । स्वयंसेवकको निरन्तर सेवा प्रवाहलाई ध्यान दिएर यस वर्षका लागि अन्तर्राष्ट्रिय स्तरमै निरन्तराता राखिएको हो । विपद् प्रतिकार्यलाई पहिलो प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको रेडक्रसले राहत, उद्धार र पुनर्लाभका विभिन्न योजनाहरुबाट वार्षिक ३० लाख नेपालीका लागि सेवा दिन्दै आएको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले यस वर्षको ५९ औं स्थापना दिवसको अवसरमा झण्डातोलन तथा दीप प्रज्वलन कार्यक्रम गरी स्थापना दिवस मनाएको रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डेले जनाएको छ । स्थापना दिवसका अवसरमा रेडक्रस भक्तपुरले योजनाबद्धरुपमा समुदायका लागि समुदायकै सहभागितामा काम गर्दै आएको बताउनु हुँदै जिल्ला सभापति मनोजकुमार थापाले भुकम्पपछिको पुनलार्भमा जस्तै नेपालमा कोरोना संक्रमण सुरु भए देखि नै रोकथाम र जनचेतनामूलक गतिविधिमा रेडक्रस भक्तपुरले नेपाल सरकारलाई सहयोग पुग्ने गरी काम गर्दै आएको बताउनु भयो । रेडक्रसका ४ उदेश्य र मर्मलाई आत्म साथ गर्दै जिल्लाका २१ वटा उपशाखाहरुका हजारौ स्वयंसेवकहरुको परिचालन गरी रेडक्रसलाई समुदायमा पुर्याउन सकेको उल्लेख गर्नु भयो । सो अवसरमा रेडक्रस बाग्मति प्रदेशका उपसभापति कृष्णेश्वरी हाडाले रेडक्रस आपतमा परेकाहरुको लागि मानविय सहायता सेवा दिने संस्थाको रुपमा क्रियाशिल रहेकाले रेडक्रसबाट के लिने भन्दा पनि रेडक्रस अभियानमा के दिन सकिन्छ भनि हरेकले आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिनु भयो । द रेयुकाई नेपालका पुस्कर गजुरे र रेडक्रस भक्तपुरका उपसभापति कृष्णगोपाल लागेजूले कोरोनाको जोखिमका बीच रेडक्रसकर्मीको भूमिका महत्वपूर्ण भएको भन्दै रेडक्रस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो भने रेडक्रस भक्तपुरका मन्त्री पशुराम पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।














