आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको प्रधानमन्त्रीको दावी ।

आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको प्रधानमन्त्रीको दावी ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभयो । यसका लागि उहाँले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिड विरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई उहाँले धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले एकछिन बादल लागेको भन्दै फेरि बादल हटाएर सूर्य आउने दावी पनि गर्नुभयो । ओलीले पार्टी कार्यकर्तालाई धैर्यता नगुमाउन र संयमता अपनाउन आग्रह गर्नुभयो । निवर्तमान प्रधानमन्त्री ओलीले सरकार र संसद सही सलामत रहनेमा आफूलाई आशंका रहेको पनि बताउनुभयो । अदालतको यो फैसलाको असरहरु आगामी दिनमा पनि देखिने उहाँको भनाइ छ । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानुपर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको भन्दै उहाँले बाँकी अवधि संसद राम्रोसंग चल्ने र समयमा निर्वाचन हुनेमा शंका रहेको बताउनुभयो । निवर्तमान प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई आफूलाई स्वीकार गर्ने पनि बताउनुभयो । तर, फैसलाका प्रावधान र भाषाले लोकतान्त्रिक प्रणालीप्रति विश्वास राख्नेहलाई चिन्तित बनाएको ओलीको भनाइ छ । यसैबीच, ओलीले भोली मात्र बालुवाटार छोड्नुहुने छ । आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने बालुवाटार स्रोतको भनाई छ ।