६४ औं राष्टिय सहकारी दिवसको अवसरमा ब्यवहारिक ऐन कानुन निर्माण र कार्यान्वयनमा जोड दिन्दै भक्तपुर बचत तथा ऋण सहकारी संघ लिमिटेड भक्तपुरले आज वर्तमान ऐन कानुन र त्यसको सान्दर्भिकता विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ सहकारीविद् कैलाशभक्त प्रधानांगले सहकारीलाई कानुनले एउटा उद्योगको मान्यता दिएको उल्लेख गर्दै सहकारी उद्मबाट समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र विपन्न वर्गको सेवा गर्नुपर्ने परिकल्पना गरेको बताए । सहकारी कानुनले समेत्न नसकेका विषय र समस्याहरुलाई समन्वयकारी निकायले सहजिकरण गर्नुपर्नेमा जोड दिन्दै उहाँले यसपालिको राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’लाई पुनर्विचार गरी प्रविधिमा सहकारी नभई सहकारी मैत्री प्रविधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नु भयो ‘सहकारी आफै मालिक आफै उपभोक्ता हो संघका अध्यक्ष लाखाजुको भनाइ ठिक हो । संघका अध्यक्षले भनेको कुरा नसुने तर एक जना विदेशीले भन्यो भने सहजै सुन्ने चलन गलत हो । ‘सहकारीले जम्मा गरेको पैसा मात्रै चलाउने नियमन निकाय हुन सक्दैन । सहकारीलाई मर्यादित बनाउन नियमित नियमन भन्ने गर्नुपर्छ’ उहाँले जोड दिनु भयो ।

भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुको सभापतित्वमा भएको सो अन्तरक्रियामा अध्यक्ष लाखाजुले वर्तमान ऐन कानुन र त्यसको सान्दर्भिकता विषयमा प्रस्तुतीकरण गर्दै व्यवहारीक कानुनमात्र कार्यान्वयनमा आउने भएकाले अब्यवहारिक कानुनहरुको सुधारको अपेक्षा गर्दै सरोकारवाला निकायमा ध्यानाकर्षण गर्दै आएको बताउनु भयो । ‘क’ वर्गका बैंकमामात्रै सहकारीको पैसा बचत गर्ने नीति गलत भएको उल्लेख गर्दै त्यसको संशोधन कार्यमा निरन्तर लागेपछि आजभोलि सहकारीले जुनसुकै वैंकमा पनि रकम जम्मा गर्न सकिने भएको बताउनु भयो । यदी ‘क’ वर्गका बैकमा मात्रै सहकारीको पैसा जम्मा गर्नुपर्ने बाध्यता रहयो भने उल्टो सहकारीले बैंकलाई पैसा तिर्नुपर्ने अवस्था आउथ्यो उहाँले भन्नु भयो ।
सहकारी अभियान, अन्तर लागानी र तालिमहरुमा संघले विशेष जोड दिन्दै आएको उल्लेख गर्दै संघका व्यवस्थापक बालकृष्ण ध्वजूले ६४ औं राष्टिय सहकारी दिवसको अवसरमा सहकारीलाई मर्यादित बनाउनका लागि आमनागरिकमा सहकारी शिक्षा, समुदायमा आधारित सहकारी संस्थाहरुबाट नियमित शिक्षा शिविर, संघहरुबाट तालिम, शिक्षा, बहस पैरवी, नियमक निकायबाट नियमित अनुगमन र दण्ड जरिवाना र सञ्चार माध्यमबाट सही सूचना प्रसारण निकर्षको रुपमा लिएको बताउनु भयो ।
नेफ्कूनका संचालक मन्दिरा मिश्रले नेपालमा सहकारी संस्थाको क्रमिक विकास बारे चर्चा गर्दै सहकारीका विकृति फालेर अगाडी बढ्न उद्यमी बन्नुपर्ने र प्रविधि अपनाउनुपर्नेमा जोड दिनु भयो भने भक्तपुर नगरपालिकाका सहकारी विभागका प्रमुख एवं वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले उत्पादनमुलक सहकारीलाई प्रोत्साहित गर्दै नगरको सरसफाईमा समेत योगदान दिन सहकारीहरुलाई परिचालन गर्दै आएको जनाउनु भयो । उहाँले कोभिड १९को संकटमा पनि भक्तपुर नगरमा रहेका १६४ सहकारी संघ संस्थाहरुमध्ये धेरै संघ संस्थाले आर्थिक सहयोग समेत गरेको बताउनु भयो ।
सो कार्यक्रममा संघका निर्वतमान अध्यक्ष राध्येश्याम सुवाल, उपाध्यक्ष हरि बल्ल, जिल्ला सहकारी संघका कृष्णभक्त घजु, जिल्ला कृषि सहकारी संघका अध्यक्ष सनिस लागेजुले पनि सुभकामना मन्तव्य ब्यक्त गरेको थियो ।
सो अन्तरक्रियामा सहभागिहरु बीच वर्तमान ऐन कानुन र त्यसको सान्दर्भिकता विषयमा अन्तरक्रिया समेत भएको थियो ।












