भक्तपुर योङ्ग सर्कलको आयोजनामा भक्तपुर जिल्लाव्यापी पार्क भलिबल प्रतियोगिता आज सुरु

भक्तपुर योङ्ग सर्कलको आयोजनामा भक्तपुर जिल्लाव्यापी पार्क भलिबल प्रतियोगिता आज सुरु

“कला, खेलकूद र मित्रता – युवा जगतको आवश्यकता” भन्ने मूल मन्त्रकासाथ स्थापित भक्तपुर योङ्ग सर्कलको आयोजनामा भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं का युवा तथा खेलकूद समितिका संयोजक श्यामकृष्ण खत्रीले गर्नुभयो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि खत्रीले खेलकूदमा गरिब तथा निम्न वर्गको पहूच बनाउन सम्पूर्ण टिम, क्लब, संघ, संस्थाले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । खेलाडीको पहिचान उस्को अनुशासनले निर्धारण गर्ने हुदा हाल राष्ट्रिय खेलकूद परिषद्को नेतृत्वमा भईरहेको चरम राजनीतिकरणको निन्दा गर्नु भयो ।
अतिथिको मन्तव्य राख्दै सर्कलका सल्लाहकार तथा नगर खेलकूद समितिका पूर्व संयोजक रविन्द्र खर्बुजाले नेपालमै पहिलो पटक नेमकिपाका विजयी नेतृत्वले भक्तपुर नगरपालिकामा खेल विकासको लागि पंचायतकालमै नगर खेलकूद समिति गठन गरेको स्मरण गर्नुभयो । सर्कलमा आवद्ध हुन पाएकै कारण आफू नगर खेलकूद समितिको जिम्मेवारी लिन पाएको कुरा राख्दै खर्बुजाले सर्कलले नेपालमै पहिलो पटक बिच भलिबल, पार्क भलिबल, फुटसल लगायत खेलकूद गतिविधि गरेको स्मरण गर्नुभयो ।
भक्तपुर योङ्ग सर्कलका अध्यक्ष गणेशभक्त खर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय भलिबल रेफ्रि इन्द्रभक्त पंचलाई प्रमुख अतिथिबाट बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरिएको उक्त कार्यक्रममा समितिका सदस्य पुण्यराम स्वंगमिखाले पति बोल्नु भएको थियो ।
प्रतियोगिताको लिग चरणका खेलहरुमा समूह क बाट ५ वडा खेलकूद समितिले श्री पद्म माा.वि.लाई पराजित गर्दै समूह विजेता बन्यो भने समूह ख बाट सुर्यविनायक क्लबले भक्तपुर योङ्ग सर्कल क लाई, समूह ग बाट स्पिङ्गडेल बो.ई.स्कूलले नव सिर्जना युवा क्लब क लाई र समूह घ बाट २ वडा खेलकूद समितिले भक्तपुर योङ्ग सर्कललाई हराउदै समूह विजेता बन्यो भने वागीश्वरी मा.वि. र नव सिर्जना युवा क्लब ख लिग चरणबाटै बाहिरियो ।
आजै भएको क्वाटर फाईनल खेलमा ५ वडा खेलकूद समितिले नव सिर्जना युवा क्लब क लाई २५–२१, २७–२५, भक्तपुर याङ्ग सर्कल ख ले सुर्यविनायक क्लबलाई २५–२२, २६–२४, स्प्रिङ्गडेल बो.ई.स्कूलले श्री पद्म मा.वि.लाई २५–१८, २५–११ र भक्तपुर योङ्ग सर्कलले २ वडा खेलकूद समितिलाई २५–२३, २५–१४ को सोझो सेटमा पराजित गरि सेमी फाईनलमा प्रवेश गर्न सफल भएको छ ।
भोली चैत्र १५ गते विहान ६ः३० बजेदेखि सेमी फाईनल खेल ५ वडा खेलकूद समितिका विरुद्ध भक्तपुर योङ्ग सर्कल ख र स्प्रिङ्गडेल बो.ई.स्कूलका विरुद्ध भक्तपुर योङ्ग सर्कल क ले फाईनलका लागि प्रतिस्पर्धा गर्नेछन् । साथै सोहि दिन फाईनल खेल सम्पन्न गरी विजेता टिमहरुलाई शिल्ड, मेडल र प्रमाण–पत्रले पुरस्कृत गर्ने आयोजक समितिका सदस्य रामसुन्दर मातांले जानकारी दिनुभयो ।