भक्तपुर नगरपालिकाको ८ औ नगर सभा सुरु, उद्घाटन सत्र सम्पन्न

भक्तपुर नगरपालिकाको ८ औ नगर सभा सुरु, उद्घाटन सत्र सम्पन्न
भक्तपुर, २९ पुस
भक्तपुर नगरपालिकाको ८ औं नगरसभा आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सो सभाको उद्घाटन गर्दै उहाँले ताजा जनादेशले देशको सार्वभौमिता रक्षा गर्नेलाई जिताउन सके मात्रै देशमा राजनैतिक स्वच्छता कायम हुने विचार ब्यक्त गर्नु भयो ।सचिव प्रेम सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर बनाउन जनतालाई सचेत बनाउँदै जनताको शैक्षिक र बौद्धिक स्तर उठाउनुपर्नेमा जोड दिनुभयो ।जनताको सांस्कृतिक स्तर उठाउन भक्तपुरका विद्यालय र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूलाई व्यवस्थित रुपमा अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नदिनुमा शासक दल जिम्मेवार भएको र शासक दल गरिब जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा दिने पक्षमा नभएको प्रष्ट पार्नुहुँदै ख्वप विश्वविद्यालयको सम्बन्धन प्राप्त भएमा देशभरका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान हुनेमा आश् वस्त पार्नुभयो । राष्ट्रिय राजनीतिको विषयमा आफ्नो धारणा व्यक्त गर्नुहुँदै सांसद सुवालले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम औचित्यपूर्ण भएको बताउनुहुँदा निर्वाचनले जनताको चेतना स्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यकाका सम्पदाहरू समाप्त हुने खतरा बढिरहेकोतर्फ सचेत पार्नुहुँदै उहाँले भक्तपुरको चारै दिशामा सहरीकरणको नाममा जथाभावी निजी प्लटिङका कारण अव्यवस्थित सहरको विकास भइरहेको र कृषियोग्य जमिन घटिरहेको बताउनुभयो ।

सभाका सभापति एवं नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय तहको आवश्यकता अनुसारको कर्मचारी राख्ने अधिकारी स्थानीय तहलाई नै हुनुपर्नेमा जोड दिन्दै समपूरक र विशेष अनुदानको लागि योजनाको सिफारिस स्थानीय तहले गर्ने तर संघ र प्रदेशले योजना छनौट गर्ने नीति सरासर गलत भएको उल्लेख गर्दै आर्थिक वर्ष २०७७।७८का नीति तथा बजेट र कार्यक्रमहरुको प्रगतिविवरण प्रस्तुत गर्नु भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गर्ने जनप्रतिनिधिहरूको भूमिका अझ बढेको र थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्थानीय तह योजना कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय भएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले देशको विकास निर्माणको अधिकांश बजेट स्थानीय तहमा पठाइनुपर्ने र स्थानीय तहमा बढी बजेट पठाएको खण्डमा विकास निर्माणको काम अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्ने बताउनुभयो ।समपूरक र विशेष अनुदानको लागि योजनाको सिफारिस स्थानीय तहले गर्ने तर संघ र प्रदेशले योजना छनौट गर्ने नीति सरासर गलत भएको बताउनुहुँदै उहाँले ‘यो अप्रत्यक्ष रुपमा स्थानीय तहमाथि केन्द्रको नियन्त्रण हो’ भन्नुभयो ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोलाई स्वभाविक राजनैतिक घटनाक्रमको रुपमा व्याख्या गर्नुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो – ‘प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका हामी जनप्रतिनिधिहरूको भूमिका अझ बढेको छ । हामी जनप्रतिनिधिहरू थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भक्तपुर नगर देशकै लागि कला संस्कृति र सभ्यताको चेतना बढाउने र शिक्षा लिने शहर भएको उल्लेख गर्दै बेरुजू हुनु अनियमिता नभएको उल्लेख गर्दै विश्वका उत्कृष्ठ शहर मध्ये भक्तपुर एक शहर रहेको बताउनु भयो । उहाँले प्रदुर्षण फैलाउने भक्तपुर औद्योगिक क्षेत्रका चिम्नीका उद्योगहरु सुधार नगरेसम्म बन्द राख्ने बताउनु भयो । भट्टराईले हरेक नगरसभा आफैमा महत्वपूर्ण हुने बताउनहुँदै सबै स्थानीय तहहरूले नगरसभालाई अभ्यस्त ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।भक्तपुर नपाले देशको बहुआयामिक विकासको लागि अरुलाई पनि सिक्ने अवसर प्रदान गरिरहेको बताउनुहुँदै प्रजिअ भट्टराईले सांस्कृतिक नगर भक्तपुरको गरिमा जोगाइराख्न र जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित धुँवा, धुलो फाल्ने उद्योग स्थानान्तरणको लागि आवश्यक पहल गरिरहेको प्रष्ट पार्नुभयो ।

बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरको ८ औं नगरसभाले नयाँ पुस्तालाई मार्गनिदेशन हुने गरी लामो यात्राको लागि योजना तर्जुमा हुनेमा विश्वास व्यक्त गर्नु भयो । गोसाइँले भक्तपुर नगरपालिका सिंगो देशको निम्ति उदाहरणीय नगर र जनप्रतिनिधि बन्न सफल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाको विगतका नगरसभाले गरेको निर्णयबमोजिम अविचलित ढंगले जनताको सेवामा क्रियाशील भई अगाडि बढिरहेको बताउनुहुँदै सांसद गोसाइँले समाजवादी व्यवस्थाले मात्र कामदार वर्गको हित गर्ने बताउनुभयो । नेपाली जनताले पुँजीवादी व्यवस्थाविरुद्ध लड्न तयारी थाल्नुपर्ने बताउनुहुँदै तल्लो वर्गको शासन व्यवस्था नआएसम्म देशको राजनीतिमा स्थिरता नआउने बताउनुभयो ।

भक्तपुर नगरका उपप्रमुख रजनी जोशीले नगरपालिकाले हाल शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्दै भक्तपुर नगरलाई ज्ञानविज्ञान र प्रविधिको शहर बनाउन चुनावि घोषणा पत्र र पार्टीको निर्देशन अनुसार नगरवासीमा सेवा दिइरहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्थानीय तहको नीति निर्माण हुने व्यवस्थापिकाको रुपमा हिउँदे अधिवेशन नगरको समग्र विकासका लागि आवश्यक नीति तर्जुमा गर्ने विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।