भक्तपुरका थप ६३ जना संक्रमित, देशभर ४८ हजार संक्रमण मुक्त

भक्तपुरका थप ६३ जना संक्रमित, देशभर ४८ हजार संक्रमण मुक्त
काठमाण्डौ, असोज ६ गते
देशमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । मंगलबार थप १ हजार ३५६ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको हो । पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १५४ वटा पीसीआर परीक्षणमा १ हजार ३५६ थप संक्रमित पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिंङका क्रममा डा.गौतमले गत २४ घण्टामा ८२३ जना कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिन्दै अहिलेसम्म निको हुनेको संख्या ४८ हजार ६१ जना पुगेको बताएको छ । अहिले देशभर १८ हजार १४२ जना संक्रमितहरु उपचारका लागि आइसोलेसनमा रहेको छ भने क्वारेन्टिनमा ७ हजार १७१ जना रहेका छन् । आइसीयूमा २२३ जना र भेन्टिलेटरमा ३७ जना रहेको जनाएको छ । मंगलबार थप २ जनाको मृत्यु भएसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।
काठमाण्डौ उपत्यकामा भने भक्तपुरका ६३ जना सहित ६४७ जना संक्रमित भएका छन् । संक्रमितहरु काठमाण्डौ जिल्लाका मात्रै ५११ छन् भने ललितपुरका ७३ जना छन् । भक्तपुरका ६३ जना संक्रमतिहरुमा २२ जना महिला र ४१ जना पुरुष संक्रमित रहेका छन् ।