नेपाल हृदयराेग निवारण प्रतिष्ठानकाे ३४ आैं केन्द्रीय सभामा सम्मान कार्यक्रम ।
पाेखरा,
नेपाल हृदयराेग निवारण प्रतिष्ठानकाे पाेखरा शाखाकाे आतिथ्यतामा पाेखरा, कास्कीमा २ दिनसम्म चलेकाे ३४ अाैं केन्द्रीय सभा भव्यतापूर्वक सम्पन्न भएकाे छ । कार्यक्रमकाे पहिलाे दिन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्य नारायण सुवालकाे सभाध्यक्षतामा सम्पन्न उक्त सभामा प्रतिष्ठानले नियमित रूपमा प्रदान गर्दै आइरहेकाे सम्मान तथा पुरस्कार कार्यक्रमलाई याे वर्ष पनि निरन्तरता दिएकाे छ । उक्त सभामा प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कुलपति प्रा.इन्द्र प्रसाद तिवारीले प्रतिष्ठानकाे तर्फबाट डा. प्रचण्ड प्रधानलाई मुटुराेग निवारणका सन्दर्भमा चेतना अभिबृद्धिका साथै प्रतिष्ठानकाे व्यवस्थापकीय पक्षमा सुधार ल्याउने कार्यमा उल्लेख्य रूपमा पुर्याउनु भएकाे याेगदानकाे कदर गर्दै “मृगेन्द्र सम्झना चिकित्सा गुठी आेरेसन सम्मान- २०८२ ” बाट सम्मान गरिएकाे छ । त्यसैगरी प्रतिष्ठानकाे ललितपुर शाखामा मुटुराेगीहरूलाई विभिन्न किसिमले लामाे समयदेखि निरन्तर सेवा पुर्याएकाे कार्यकाे कदर गर्दै रूपक कान्त राजाेपाध्यायलाई ” स्व. दामाेदरराज शर्मा मुटुराेगी सेवा पुरस्कार- २०८२” बाट रू २५,०००/- सहित सम्मान गरिएकाे छ । सम्मानकै क्रममा मुटुराेगीहरूलाई विभिन्न किसिमले लामाे समयदेखि निरन्तर सेवा पुर्याएकाे कार्यकाे कदर गर्दै डा. सुमन्त बन्जाडेलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार -२०८२ बाट रू २५०००/- सहित सम्मान गरिएकाे छ । त्यसैगरी बाथ मुटुराेग निवारणका सन्दर्भमा जनचेतना अभिबृद्धि, उपचार एवं प्रतिकारका क्षेत्रमा विशिष्ट याेगदानकाे कदर गर्दै डा. प्रेमराज बैद्यलाई ” बाथ मुटुराेग निवारण पुरस्कार-२०८२ बाट रू २५०००/- सहित सम्मान गरिएकाे छ । साेही सभामा कार्यदक्षताका आधारमा प्रतिष्ठानकाे सर्लाही शाखालाई रू ५०,०००/- सहित शाखा प्राेत्साहन पुरस्कार र मकवानपुर शाखालाई सर्वाेत्कष्ठ शाखा पुरस्कारबाट सम्मान गरिएकाे छ । सम्मानित व्यक्तित्व र पुरस्कारबारेकाे परिचय प्रस्तुतिकरण कार्य प्रतिष्ठानका केन्द्रीय सहकाेषाध्यक्ष राजुराम मुनंकर्मीबाट गरिएकाे थियाे ।


उक्त सभालाई सम्वाेधन गर्नुहुँदै प्रमुख अतिथि तिवारीले नयाँ युवा नेपाल पिंढीमा जङ्कफुड र मुटुराेगका कारक तत्व मानिएका खानाहरूबाट टाढा रहन सचेतनामूलक कार्यक्रम गर्नुपर्ने आजकाे आवश्यकता रहेकाे चर्चा गर्नुहुँदै समाजका विभिन्न निकायहरूकाे एउटा सञ्जाल बनाई मुटुराेग नियन्त्रणका लागि साझा कार्यक्रम गर्नुपर्ने बताउनुभयाे । साेही कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशका निमित्त स्वास्थ्य सचिव डा. रमेश केसि र उद्याेग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्द राज मुल्मी, सम्मानित व्यक्तित्व डा. प्रचणड प्रधान, डा. प्रेमराज बैद्य, विजयराज बैद्य ( मकवानपुर शाखा) लगायतले आफ्नाे धारणा राख्नुभएकाे थियाे । त्यसैगरी साेही समाराेहमा वरिष्ठ मुटुराेग विशेषज्ञ प्रा.डा. प्रकाश राज रेग्मीले मुटुराेग राेकथाममा नेपाल हृदयराेग निवारण प्रतिष्ठानकाे याेगदान विषयमा प्रवचन दिनुभएकाे थियाे ।
प्रतिष्ठानकाे ३५ जिल्लाका कूल १६५ जना प्रतिनिधिहरूकाे सहभागिता रहेकाे उक्त सभामा प्राविधिकहरूकाे लागि तालिम र शाखा सुदृढिकरण तालिम समेतकाे आयाेजना गरिएकाे थियाे । प्रतिष्ठानका केन्द्रीय महासचिव काेमल प्रकाश घिमिरेले प्रमुख अतिथि, विशिष्ट र अन्य अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभयाे भने कास्की शाखाका सभापति केदार ढकालले कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे । कास्की शाखाका सचिव नविनराज बरालले सहजिकरण गर्नुभएकाे उक्त कार्यक्रमकाे दाेस्राे दिन सहभागीहरूबाट पाेखराकाे न्युराेड, महेन्द्रपूल , नयाँबजार हुँदै पुन: न्युराेडसम्म प्रतिष्ठानकाे लाेगाे अंकित टिशर्ट,ज्याकेट र टाेपीकाे पहिरन सहित प्रभातफेरि कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे भने प्रतिष्ठानका केन्द्रीय महासचिव काेमल प्रकाश घिमिरेले प्रस्तुत गर्नुभएकाे आ.व.०८१/०८२ काे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष उत्तम लाल श्रेष्ठले प्रस्तुत गर्नुभएकाे आर्थिक
प्रतिवेदन छलफल पश्चात् सर्वसम्मतिबाट पारित गरिएकाे थियाे ।













