हनुमन्तेमा बाढी आउन सुरुः अझै ५ दिन पानी पर्ने

हनुमन्तेमा बाढी आउन सुरुः अझै ५ दिन पानी पर्ने

भक्तपुर, असोज ५ गते

हुनमन्ते खेलामा फेरी बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी ५ दिन देशका धेरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना औल्याएको पहिलो दिन सोमबार दिउँसो देखि परेको वर्षाले भक्तपुरको हनुमन्ते खोलामा डुवान सुरु भएको हो । भक्तपुर नगरपालिका वडा नम्वर ४स्थित बाराहीस्थानमा सोमबार साँझ डुवान भएको हो । दुइर्, तिन घण्टा लगातार पानी पर्दा सो क्षेत्रमा डुवान भएको जनाउँदै स्थानीय हरिसुन्दर सुवालले राममन्दिरमा भन्दा बाराहीस्थानमा बढी डुवान भएको बताए । लगातार पानी परे थप डुवान हुन सक्ने उल्लेख गर्दै पानी पर्न कम भएपछि डुवान घट्न थालेको पनि जानकारी दिनु भयो ।

जल तथा मौसम विज्ञान विभागले  सोमबार एक विशेष बुलेटिन जारी गरी  आगामी ५ दिनसम्म देशका अधिकांस क्षेत्रमा पानी पर्ने जनाएको छ। । विभागका अनुसार उत्तरपूर्व बंगालको खाडीमा  रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।