भक्तपुरका थुनुवा र प्रहरीसहित ४१ जना थपिए संक्रमित
भक्तपुर,भाद्र १५ गते
देशभर ८९९ संक्रमित थपिन्दा भक्तपुरका थुनुवा र प्रहरीसहित ४१ जनामा कोरोना देखिएको छ । काठमाण्डौ उपत्यकामा भने २९८ जना संक्रमित भएका हुन । यस मध्ये भक्तपुर जिल्लाका ४१, काठमाण्डौका १९० र ललितपुरका ६७ जना रहेका छन् । देशभर भने ३०३ महिला र ५९६ जना पुरुष सहित सोमबार ८९९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सोमबार एक्कै दिन ५८८ जना कोरोना मुक्त पनि भएको जानकारी दिन्दै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हाल देशभर संक्रमित पुष्टि हुनेको संख्या ३९ हजार ४६० पुगेको जनाएको छ । संक्रमितहरु मध्ये २१ हजार ४१० जना निको भइसकेको उल्लेख गर्दै अहिलेसम्म ५४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमल बताए । ११ हजार १२९ जनाको पीसीआर परीक्षण गर्दा देशभर ८९९ जनामा पोजेटिभ आएको जनाएको हो । विदेशबाट आएका ७ हजार ३३७ जना अधिकांश क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित भएका भक्तपुरका ४१ जना मध्ये मध्यपुर थिमी प्रहरी बीटका ८ जना प्रहरी र ५ जना थुनुवा समेत रेहेको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्ण मिजारले जनाएको छ ।
मध्यपुरमा बढ्दै संक्रमण
भक्तपुर, १५ भदौ । सोमबार भक्तपुर जिल्लामा ४१ जना मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपामा १६ पुरुष र ८ महिला, सुर्यबिनायक नपामा ४ महिला, भक्तपुर नपामा २ पुरुष र चाँगुनारायण नपामा २ पुरुष र ३ महिलामा कोभिड–१९ पुष्टि भएको हो ।
संक्रमितमध्ये ४ जनामा भने पहिले नै कोभिड–१९ को संक्रमण पुष्टि भई पुनः परीक्षण गर्दा पुनः पोजेटिभ देखिएको बताइएको छ । २ जना भने अझै सम्पर्क हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयबाट प्राप्त जानकारीअनुसार मध्यपुर थिमि नपाका लोकन्थली, गठ्ठाघर, बोडे, पुरानो थिमि, कौशलटार र भुलाँखेल क्षेत्रमा कोभिड–१९ का संक्रमित पहिचान भएको हो ।
सुर्यबिनायक नपाअन्तर्गत बालकोट, गुण्डु र दधिकोटमा कोभिड–१९ का संक्रमित फेला परेको छ । त्यस्तै भक्तपुर नपाको वडा नं ७ र ९ मा संक्रमण पुष्टि भएको हो ।
चा“गुनारायण नपाअन्तर्गत ताथली, छालिङ र दुवाकोटमा संक्रमित पहिचान भएको हो ।














