भक्तपुरका ५४ सहित उपत्यकामा  अहिलेसम्मकै उच्च संक्रमण

भक्तपुरका ५४ सहित उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमण

भक्तपुर, भाद्र १२ गते
काठमाण्डौका ३५० र भक्तपुरका ५४ तथा ललितपुरका ११ जना सहित शुक्रबार उपत्यकामा अहिलेसम्मकै उच्च कोरोना संक्रमित भएका छन् । कोरोनाले शुक्रबार भक्तपुरका एक जनाको मृत्यु हुनुका साथै ५४ जना थप संक्रमित भएका हुन् ।
४१५ जना संक्रमित भएपछि काठमाण्डौ उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित पुष्टि भएका हुन । यसभन्दा अघि ३७७ जना कोरोना संक्रमित भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ दिएको जानकारी अनुसार काठमाण्डौ उपत्यकाका ४१५ जना सहित देशभर ३३४ महिला र ५९३ पुरुष गरी ९२७ थप जना कोरोना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १० हजार २२९ जनाको पीसीआर परिक्षण गर्दा देशभर ९२७ संक्रिमत थपिएसँगै कुल ३६ हजार ४५६ जना कोरोना संक्रमित भएका छन् ।
भक्तपुरको मध्यपुर थिमी ३का ६२ वर्षीय एक महिला सहित देशभर १२ जना संक्रमितहरुको मृत्यु समेत भएको छ । मृतकको संख्या पनि अहिलेसम्मकै उच्च रह्यो। कोरोनाका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
शुक्रबार एक्कै दिन १६९ जना मात्र कोरोना संक्रमित निको भई घर फर्केका छन् ।