‘मजदुर–किसान’ पत्रिकाको भनपा ९ मा अन्तरक्रिया…….
भक्तपुर, १९ साउन
नेपाल मजदुर किसान पार्टी, सूर्यमढी एकाइ समितिको आयोजनामा पार्टीको मुखपत्र वर्ष १० अंक १ पूर्णाङ्क २४ को ‘मजदुर–किसान’ पत्रिकाको शनिवार अन्तरक्रिया भएको छ । विगतमा लकडाउनका कारण खुला रुपमा कुनै गतिविधि हुन नसकेपनि लकडाउनपछि सामाजिक दुरी कायम गर्दै उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेमकिपा भक्तपुर नगरसमितिका अध्यक्ष नारायण बहादुर दुवालले पार्टीको सैद्धान्तिक स्तर उकास्न र माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधाराबारे स्पष्ट हुन यस्ता गतिविधिको आवश्यकता रहेको औल्याउनुभयो । पार्टीको सातौ महाधिवेशनबाट पारित विधानअनुसार पार्टीका कार्यकर्ताहरुले पालना गर्नुपर्ने कर्तव्यबारे बताउनुहुँदै इमान्दार नेता कार्यकर्ताले मात्रै देशलाई सही दिशामा लैजानसक्ने स्पष्ट पार्नुभयो । उहाँले निस्वार्थी भावनाले देश र जनताको सेवा गर्न सक्ने नेता कार्यकर्ता तयार गर्न पार्टीको नीति निर्देशनलाई पालना गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै ९ नं. वडाध्यक्ष रवीन्द्र ज्याख्वले विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना महामारीले देशलाई ठूलो क्षति पु¥याउने भएकाले यसको रोकथाम गर्नुपर्ने र समाजवादी चिन्तन रहेका देशमा मात्रै छिट्टै समाधान भएको विचार व्यक्त गर्नुभयो । उहाँले पूँजीवादी र साम्राज्यवादी देशहरुमा मानवीय संवेदनहिनताका कारण महामारी नियन्त्रणभन्दा नाफा र व्यापारमै तल्लिन भएको स्पष्ट पारे । साथै उहाँले यसवर्षको आठ रात आठ दिन मनाइने गाइजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्नुपर्ने अन्यथा विकराल रुपमा कोरोना भाइरस आउनसक्नेतर्फ सचेत पार्नुभयो । १६ वर्षमाथिका सबै नागरिकले राष्ट्रिय परिचयपत्र पाउनुपर्ने बताउँदै उहाँले उक्त परिचयपत्रका लागि सम्बन्धित ठाउँमा गई फोटो खिचाउनुपर्ने बताउनुभयो । त्यसको लागि ५७ दिनसम्म टोली खट्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा उहाँले अमेरिकी साम्राज्यवादले नेतृत्व गरेका सबै असफल सावित भैरहेको टिप्पणी गर्दै समाजवादी देशमा मात्रै मानवीय भावना राखी काम गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष गंगाराम ज्याख्वले नेपाल क्रान्तिकारी किसान संघको स्थापनाबारे स्पष्ट पार्नुहुँदै देशमा मोहियानी हक कायम गर्नका लागि भूमिसुधार लागु गर्न किसान संघले गरेका अथक प्रयासबारे स्पष्ट पार्नुभयो । उहाँले भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, भूमिसुधार हुँदा मोहिको लगत कायम गर्ने आन्दोलनलगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय सवालमा माक्र्सवादी, लेनिनवादी र माओ विचारधारालाई आंगिकार गर्दै पीडित जनताको पक्षमा किसान संघले साथ सहयोग गर्दै आएको स्परण गरे । यही क्रममा खोकना बुंगमतीमा भएको रोपाइँ आन्दोलनमा सहयोग गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक समितिका अध्यक्ष दिलभक्त कोजूले कोरोना भाइरसको इतिहासबारे स्पष्ट पार्नुहुँदै पार्टीको निर्देशन गरेका कुरामा ध्यान दिनुपर्ने बताए । आयोजक समितिका सचिव लक्ष्मीप्रसाद कुसीले सञ्चालन गरेको उक्त कार्यक्रममा काशिलाल प्रजापतिले का. रोहितको अन्तरवार्ता, प्रेम प्रजापतिले साम्रज्यवादको पतन र समाजवादी क्रान्तिको अपरिहार्यताबारे लेनिनको शिक्षा, प्रवीण प्रजापतिले अध्यक्ष माओ त्से तुङका दार्शनिक रचनाः एक छलफल, सम्रात प्रजापतिले कोभिड १९ महामारी ः अमेरिकी राष्ट्रपति ट्रम्प इतिहासको कठघरामा उमिनुपर्ने विषयमा आ–आफ्नो प्रस्तुति राखेका थिए ।














