२ सय ३२ जना भक्तपुरका विभिन्न क्वारेन्टाइनमा, २२ जना उपचारमा
भक्तपुर, असार २७ गते
भक्तपुर जिल्लामा क्वारेन्टाइन र आसोलेशनमा रहनेको संख्या २३२ रहेको छ भने संक्रमितको संख्या ४५ पुगेको छ । शुक्रबार एकै दिन १ सय ४९ जना कोरना आशंकामा क्वारेन्टाइनमा राखिएको हो भने एक जनामा कोरना संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको थियो । कतार एयरवेजबाट नेपाल आएका १ बालिका, ६ महिला सहित १ सय ४९ जना मध्ये केहीमा कोरना संक्रमणको आशंका भएपछि भक्तपुरको खरिपाटीस्थित सरकारी क्वारेन्टाइनमा राखिएको जिल्ला संकट व्यवस्थापन समिति (सिएमसी)ले जनाएको छ । प्रदेश नम्वर १ र २का विदेशबाट आएका नेपालीको भक्तपुरका दुई वटा होल्डिंग सेन्टरमा केही समय राखेर सम्बन्धित जिल्लामा सुरक्षित रुपले पठाउने व्यवस्थापनको जिम्मेवारी पाएको सिएमसी भक्तपुरले विदेशबाट आएकाहरुमा कोरना संक्रमण देखिएपछि शुक्रवार एकै दिन १सय ४९ जनालाई नै क्वारेन्टाइनमा राखेको हो । यस अघि विभिन्न देशबाट आएका ८३ जनालाई जिल्लाका विभिन्न १० वटा क्वारेन्टाइनहरुमा राखिएको थियो । भक्तपुरका संक्रमित ४५ मध्ये कसैमा पनि लक्षण नदेखिएको उल्लेख गर्दै संक्रमितहरु मध्ये २३ जना निको भइ घरफर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालले जनाएको छ । शुक्रवार भक्तपुरका स्थानीय जनप्रतिनिधी र सरोकारवाला निकायहरु बीच कोरना भाइरसको जोखिम व्यवस्थापन र रोकथाम तथा उपचारका लागि भएका जिल्लाको अवस्था बारे छुटाछुटै गरेको छलफलमा सहभागिहरुले कोरना परिक्षण बढाउन माग गरेको कार्यालय प्रमुख कृष्ण मिजारले जनाएको छ ।
भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा १ सय ४९ जना, केएमसी अस्पतालको आइसोलेशनमा ४१ जना, बासघारी प्लाइ कारखानामा १३ जना, जनकपुर इन्जिनियरिग कलेज ताथलीमा ७ जना, ब्रम्हायणी बहुउदेश्य भवनमा ६ जना, होटल भिन्तुना इन्द्रायणीमा ४ जना, होटल क्लासिक बासघारीमा ४ जना, स्वास्थ्य चौकी दुवाकोटमा ४ जना, सिद्धिलक्ष्मी गेष्टहाउसमा २ जना, सिटि गाउँ रेष्टुरेण्टमा १ जना र नेवा गेष्ट हाउसमा १ जना गरी २ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् भने संक्रमित २२ जना विभिन्न अस्पतालहरुमा उपचारत रहेका छन् ।













