भक्तपुर, जेष्ठ १६ गते
कोभिड १९ रोकथाम र उपचार पद्धति एवं सुरक्षित व्यबहार बारे भक्तपुरका उद्यमी व्यवसायीलाई शुक्रवार डाक्टरी परामर्श दिएको छ । भक्तपुर उद्याोग वाणिज्य संघ भक्तपुरले डाक्टर इबामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा छाति रोग विशेषज्ञ डाक्टर नविन प्रकाश शाहले परार्मश दिएका हुन । लक डाउन मात्रै कोरना भाइरस संक्रमण रोकथामको उपाय हुन नसक्ने भन्दै संघको तर्फबाट कोरना भाइरसको संक्रमणका लक्षण, संक्रमण हुने प्रकृया र सुरक्षित हुने व्यवहारहरुका बारेमा परामर्श दिएका हुन । सामाजिक एवं भौतिक दुरी कायम गर्न सके कोभिड १९ संक्रमणबाट सुरक्षित हुन सक्ने उल्लेख गर्दै हुलमुलमा जान मात्र मास्क लगाउने र घरमा वा एक्लै बस्दा मास्क लगाउँदा त्यसबाट विभिन्न नकारात्मक प्रभाव समेत पर्नेमा डाक्टर शाहले सचेत पार्नु भयो । कोरनाबाट बच्न मास्क लगाउनुपर्नेमा जोड दिइरहँदा मास्क लगाएर ताजा स्वास फेर्न नसक्ने, कार्वाेनडाईअक्साइडयुक्त स्वास फेरी रहँदा त्यसले झन मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाउँदै लाने भएकाले मास्क लगाउने बानि सुधार्न आग्रह गर्नु भयो । कोरना भाइरस त्यति शक्तिशाली नभए पनि संसारभर प्रभावित पारेको उल्लेख गर्दै यस भाइरसको संक्रमित ८० प्रतिशतमा लक्षण समेत नदेखिने र उपचार समेत गर्न नपर्ने देखिएको डाक्टर शाहले बताउनु भयो । बाँकी २० प्रतिशत मध्ये पनि १५ प्रतिशत संक्रमितहरुको सामान्य उपचारबाट निको हुन सक्ने र बाँकी पाँच प्रतिशत बढी जोखिममा रहने गरेको उल्लेख गर्नु भयो । बुढेसकाल लागेका, दीर्घ रोग एवं विभिन्न रोग भएका व्यक्तिहरुमा कोभिड १९ संक्रमण हुँदा कोभिड १९ले भन्दा अन्य रोगहरु बल्झिन गई मानिसहरुको मृत्यु भइरहेको उहाँले विश्लेषण गर्नु भयो ।

तागतिलो खाना, नियमित व्यायाम र आराम गर्नाले पनि कोभिड १९बाट बचाउन सक्ने रोग प्रतिरोधात्मक क्षमता मानिसको शरीरमा बढ्ने बताउँदै डाक्टर शाहले कोभिड १९ संक्रमणबाट बच्न स्यानेटाइजिड गर्नु भन्दा सावुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुनु प्रभावकारी रहेको समेत औल्याउनु भयो । ७० प्रतिशत भन्दा कम अलकोहल भएको स्यानेटाईजरले कोरना भाइरस नष्ट गर्न नसक्ने तथा हातमा तेज, ग्रिज जस्ता बस्तु रहेको बेला स्यानेटाईजिग गरेर मात्रै हात सफा नहुने उहाँको भनाई हो ।
संघका अध्यक्ष प्रदिप श्रेष्ठको अध्यक्षतामा भएको सो परामर्शमा वरिष्ठ उपाध्यक्ष शिव मानन्धरले कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि भइरहेको लक डाउनले उद्योग व्यवसाय चौपतमा रहेको भन्दै उहाँले लक डाउनको विकल्प खोज्नुपर्नेमा जोड दिनु भयो ।

सो अवसरमा संघका उपाध्यक्ष रोशन भेद्यले संघका सदस्य उद्यमीहरुको लागि एक लाख र पचास हजारको कोभिड १९ विमा गर्ने योजना कार्यान्वयनमा ल्याइरहेको उल्लेख गर्दै उद्यमी व्यवसायीले सामाजिक उत्तदरदायित्व बहन गर्दै कोभिड १९ संक्रमणको बीचमा पनि सुरक्षित व्यवसाय प्रवर्धन गर्दै आएको बताउनु भयो ।
सो अवसरमा सहभागि व्यवसायीहरुले कोभिड १९का गुण, लक्ष्यण र प्रभाव तथा असरहरु बारे डाक्टर शाहसँग जिज्ञासा राखेका थिए ।















