नेपालगञ्जमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नयाँ सातैजना सङ्क्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् । गएराति भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू सबैको स्वास्थ्य सामान्य छ । उनीहरू चार जना महिला र तीन जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा १६ जनामा कोरोना देखिएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ पुगेको मन्त्रालयले जनाएको छ ।














