जेनेभा, ८ चैत (रासस/एएफपी) : विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८६० जना सङक्रमित रहेको इटालीमा पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७४५ जना उपचारपछि घर फर्किएका बताइएको छ । स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३५२ जना सङक्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ । कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्याण्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।
इटलीमा एकै दिनमा ६२७ व्यक्तिको मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाई गरिँदै
कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाई गर्ने यहाँको सरकारले शनिबार बताएको छ । एकै दिनमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२७ पुगेपछि सरकारले नागरिकहरूलाई उनीहरूकै घरहरूमा राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ । शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको समयमा इटलीमा एकै दिनमा अहिलेसम्ममा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिडडुलमा रोक लगाउने काम कडा नभएका कारण सङ्क्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सिमित रहने व्यवस्था गरेको छ । लोम्बार्डीमा नागरिकहरू हतास भएका दृष्यहरू देखिएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । अस्पतालहरूमा हजारौँ व्यक्ति सङ्क्रमित भएको आशङ्कामा भीड लागेपछि उपचार सेवाको उचित प्रबन्ध मिलाउन जटिलता देखिएको सीएनएनले बताएको छ । स्वास्थ्यकर्मीको अनुरोधमा प्रभावित क्षेत्रलाई लकडाउन (बन्द ) गर्न सेना प्रयोग गर्न गरिएको अनुरोधलाई सरकारले स्वीकार गरेको लोम्बार्डीका प्रशासन प्रमुख एटिलियो फोन्टानाले बताउनुभयो । उहाँले लोम्बार्डी क्षेत्रमा ११४ सैनिक परिचालन गरिएको र आवश्यकता अनुसार यो सङ्ख्यालाई बढाइने बताउनुभयो । इटलीमा सबैभन्दा पहिले लोम्बार्डीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उहाँले भन्नुभयो, “उपचारका कारण यो सातासम्ममा सङ्क्रमित घट्ने अपेक्षा गरिए पनि सङ्क्रमितको सङ्ख्या नियन्त्रणमा आउन नसके पनि यहाँ पहिलेको तुलनामा नयाँ बिरामीको सङ्ख्यामा कमी आउन थालेको छ तर मृत्युदर भने बढेको छ ।” इटालीमा शनिबारसम्म चार हजार ३२ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेको छ भने ४७ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा इटलीमा करिब छ हजार थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।














