भक्तपुर जिल्ला स्तरीय धिमे बाजा प्रतियोगिता सुरु

भक्तपुर,माघ २५ गते
भक्तपुर जिल्ला स्तरीय धिमे बाजा प्रतियोगिता सुरु भएको छ । भक्तपुर नगरपालिकाको आयोजना यो प्रतियोगिता आयोजना गरिएको हो । भक्तपुर नगरको दुधपाटीबाट आज भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र प्रदेश सांसद सुरेन्द्रराज गोसाईले संयुक्त रुपमा सो प्रतियोगिताको उद्घाटन गरेका हुन । उद्घाटन पश्चात दुधपाटीबाट दत्तात्रय मन्दिर परिसरसम्म धिमे बाजाको र्याली आयोजना गरी रहेको छ । दत्तात्रय स्थित मन्दिर परिसरमा प्रतियोगितामा सहभागि धिमे बाजाको मूल्याकंन कार्य भइरहेको छ । उद्घाटन कार्यक्रममा उपप्रमुख रजनी जोशीले पनि बोल्नु भएको थियो । प्रतिगितामा भक्तपुर नगरबाट ६० वटा, चाँगुनारायण नगरपालिकाबाट १३ वटा, मध्यपुर थिमी नगरपालिकाबाट २ वटा र सूर्यविनायक नगरपालिकाबाट २ वटा गरी ७७ वटा धिमे बाजा समूहले प्रतियोगितामा भाग लिएको नगरपालिकाले जनाएको छ ।

आज र भोली हुने सो प्रतियोगिताका उत्कृष्ठ प्रतियोगिहरुलाई आइतबार साँझ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा महिला, पुरुष दुवै समूहहरुको उपस्थिति रहेको छ । नेवारी परम्परगत पोशाकमा सजिएर प्रतियोगिहरुले आआफ्नो धिमे बाजाको बोल प्रस्तुत गर्दै भक्तपुर नगर परिक्रममा गरेका हुन । प्रतियोगिहरुको मूल्यांकन नगर परिक्रममाको क्रममा र दत्तात्रय मन्दिरस्थित दबलीमा प्रस्तुत गराएर गरिने आयोजक समितिले जनाएको छ । आज पहिलो दिनमा ४० वटा समूहको मूल्यांकन गरिने र बाँकी ३७ वटाको भोली मूल्यांकन गरी उत्कृष्ठ समूहलाई अध्यक्ष विजुक्छेबाट पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको हो ।