नेमकिपाका अध्यक्ष विजुक्छें द्वारा संस्कृति शिरोमणि हरिराम जोशीका “मेरा अनुभूतिहरु” पुस्तक विमोचित

नेमकिपाका अध्यक्ष विजुक्छें द्वारा संस्कृति शिरोमणि हरिराम जोशीका “मेरा अनुभूतिहरु” पुस्तक विमोचित

भक्तपुर, बैशाख ५ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संस्कृति शिरोमणि हरिराम जोशीका “मेरा अनुभूतिहरु” पुस्तकको आज विमोचन गर्नु भएको छ । कम्यूनिष्ट भएको रेकर्डकै कारण दुई दुई पटक विदेश जानबाट बन्चितिमा पर्नु भएका जोशीको योगदानहरुको चर्चा गर्नु हुँदै अध्यक्ष विजुक्छेले स्तालिनकालिन रुसमा सच्चा कम्यूनिष्टहरु रहेको उल्लेख गर्दै नेपालका कम्यूनिष्ट भन्नेहरु भाई कांग्रेस मात्रै भएको बताउनु भयो । भोकभोक्कै लाखौ जनता मर्दा रुसमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेले सामुहिक खेति र ट्याक्टर प्रविधिको विकासले रुस विकास भएको तर रुसी कम्यूनिष्ट संगठनमा खुच्चेप जस्ता गुप्तचरहरुको प्रवेशले सिंगो रुस विखण्डन भएको बताउनु भयो ।
जनताको बौद्धिक र साँस्कृतिक स्तर उठान गर्न नसकेसम्म देश विकास हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष विजुक्छेले आफूलाई कम्यूनिष्ट भन्नेहरुले सञ्चालन गर्दै आएका सहकारी संस्थाहरुले मात्रै पनि किसान वर्गको उत्थानका लागि काम गरेको भए किसानहरुको जीवनस्तर उठ्ने विचार व्यक्त गर्नु भयो । धनीमानिहरुको बैंक जस्तो गरी सहकारी संस्था सञ्चालन गर्नु सहकारी सिद्धान्त विपरित भएको चर्चा गर्दै अध्यक्ष विजुक्छेले नाफा कमाउने भन्दा सेवा दिनेमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले नयाँ पुस्तालाई योग्य र दक्ष बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने, कच्चा डक्टरले धेरैको ज्यान जान सक्ने बताउनु हुँदै रु. १० । १५ लाखमा डाक्टर पढाउने भक्तपुर नगरपालिकाको तयारीमा सरकारले सहयोग नगरेको बताउनु भयो । यक्ष र दक्ष जनशक्तिले मात्रै प्रतिस्पर्धामा उत्रन सक्ने भएकाले नयाँ पुस्तालाई सक्षम बनाउन ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष विजुक्छे सो अवसरमा लेखक जोशीको कृतित्व र ब्यक्तित्वको चर्चा गर्दै उहाँको लेखन कार्यको निरन्तरताको लागि सुभेच्छा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा लेखक जोशीले नेपाली कला संस्कृति, जात्रा पर्वको छुटै महत्व रहेको बताउँदै हरेक पर्वहरुको भौतिक विश्लेषणले एउटा कथा, महाकाब्य बन्ने विचार ब्यक्त गर्नु भयो । गाठामुग, गाईजात्रा पर्वहरुले मानिसलाई सक्षम, स्वनियन्त्रणमुखि एवं स्वाधिन बन्न सकेन भने बैतर्निमा पछानिने निश्चित भए जस्तै घरको जग बलियो भएन भने घर भत्किने सन्देश गठामुग पर्वले समुदायलाई सिकाइरहेको बताउनु भयो । पुर्खाले मनाउँदै आएको चाडपर्व बास्तविक जानकारी समुदायमा दिन सकेमात्रै हामीले मनाउँदै आएको पर्वको महत्व रहने बताउनु भयो । सबै भन्दा पहिला सत्रुलाई नमस्कार गर्न जान्नुपर्छ अनिमात्रै आफू सुरक्षित भइन्छ संस्कृतिविद जोशीले बताउनु भयो । कृष्णले राजाको अर्ति नसुन्न पहिलो पटक अर्ति दिएको उल्लेख गर्दै राजा इन्द्रले धनघोर वर्षा गराई प्रकोप निम्त्याएको कथा सुनुाउनु भयो ।
विस्का जात्रा मातृ सक्ताको अन्त्य गरी पृत्यु सक्ताको सुरुवातको रुपमा मनाउन थालेको विश्लेषण गर्नु हुँदै संस्कृतिविद जोशिले आमा संसारको सबै भन्दा ठूलो रहेको विचार ब्यक्त गर्नु भयो ।
आयोजक संस्था भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्रजपतिको सभापतित्वमा भएको सो कार्यक्रममा इतिहासकार प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठले लेखक जोशिको ७० वर्ष देखिको लेखन कलाका चर्चा गर्दै उहाँ तर्क सम्बादका धनि ब्यक्ति हुनु भएको बताउनु भयो । इतिहास र सस्कृतिका हरेक विद्यार्थीहरुको पुस्तकालयमा पुग्ने गरेको चर्चा गर्दै इतिहासकार श्रेष्ठले लेखक जोशी सबैका गुरु भएको बताउनु भयो । अपराध गरेपछि दण्ड सजायको भागि इन्द पनि भइन्छ भन्ने कथन लेखक जोशीको पुस्तकमा पढ्ने पाइएको उल्लेख गर्दै उहाँले भिमसेनलाई पूज्नुको अर्थ अर्थोउपार्जनको लागि मात्र होइन, ब्यापारका लागि टाढा टाढा पुगेका ब्यापारीले आफ्नो धनमालको सुरक्षा खोजेको हो उहाँले बताउनु भयो ।
दास प्रथाको उन्मुलन अमेरिकाबाट भएको भनि विश्वभर चर्चा हुने गरे पनि बास्तबमा भक्तपुरबाट भएको इतिहास कोत्याउँदै इतिहासकार श्रेष्ठले राष्ट्यि विभूति शंखधर साख्वालाई साख्वा बनाउन भक्तपुरेहरुको पनि महत्वपूर्ण भूमिका रहेको चर्चा गनुभयो । साँख्वाले ऋण मोचन मात्र होइन दासबाट पनि मुक्त रहेको इतिहास बारे चर्चा गर्नु भयो । कार्यक्रममा पुस्तक प्रकाशन सहयोगि एवं आयोजक भक्तपुर साकोसका सल्लाहकार तथा श्रमिक साप्ताहिकका सम्पादक विष्णुगोपाल कुसीले विमोचित पुस्तकको विवेचना गर्दै लेखक नेपाली संस्कृतिकका भौतिकबादी विश्लेषक रहेको बताउनु भयो । ३०६ पृष्ठको संस्कृति शिरोमणि हरिराम जोशीका “मेरा अनुभूतिहरु”पुस्तकले समेतिएका महत्वपूर्ण विषयवस्तुहरुको सो अवसरमा उहाँले बताउनु भएको थियो । सो पुस्तक लेखक जोशिले आफ्ना जीवन संगिनी श्रीमती कदम केशरी जोशीमा समर्पण गर्दै नेमकिपा अध्यक्ष विजुक्छेको आग्रहमा भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको हो । यस पुस्तकको मूल्य रु. ३ सय राखिएको छ ।