तानसेन नपाका प्रतिनिधिमण्डल टोली भक्तपुर नपामा

तानसेन नपाका प्रतिनिधिमण्डल टोली भक्तपुर नपामा
२०७८ वैशाख ९ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पाल्पाको तानसेन नगरपालिका वडा नं. १० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनासहितको प्रतिनिधिमण्डल टोलीले बिहीबार भेट ग¥यो । नगर प्रमुख प्रजापतिले तानसेनका प्रतिनिधिमण्डल टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा खादा र भादगाउँले टोपी लगाई स्वागत गर्नुभयो ।
भेटमा उहाँहरुबीच भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा भक्तपुर नपाद्वारा निर्मित स्थानीय पाठ्यक्रमबारे छलफल भयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको इतिहास, भूगोल, जातजाति, संस्कृति, कला सम्पदा, सीप, स्थानीय खेल, पर्यटनलगायत विविध विषयमा केन्द्रित शिक्षक र विद्यार्थीहरुको लागि अत्यन्त उपयोगी स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री र ख्वपको पहिचान प्रकाशनमा ल्याएको अवगत गराउनुभयो ।


भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले शैक्षिक क्षेत्रका गतिविधिमा तीव्रताका साथ अगाडि बढिरहेको बताउनुहुँदै उहाँले भक्तपुरका विद्यालयहरुमा पाठ्यक्रमको आधारमा पठनपाठन गराउने नयाँ अभ्यासको थालनी भएको बताउनुभयो ।
तानसेन नपा वडा नं. १० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनाले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको गतिविधि प्रशंसनीय रहेको बताउनुहुँदै तानसेन नपामा स्थानीय पाठ्यक्रम निर्माण गर्ने सिलसिलामा कार्यदलसहितको टोली भक्तपुर नपाको अध्ययन भ्रमणमा आएको बताउनुभयो ।
तानसेन नपाका प्रतिनिधिमण्डल टोलीमा तानसेन नपाका कार्यकारी प्रमुख पिताम्बर पाण्डे, शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने, शिक्षा शाखा सदस्यहरु कृष्णबहादुर थापा, भेषराज सुवेदी, तीर्थप्रसाद गौतमको सहभागिता थियो । सोही क्रममा नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई नगरपालिकाका प्रकाशनहरु र भित्तेपात्रो उपहारस्वरुप प्रदान गर्नुभयो ।