रक्त सञ्चार भक्तपुरमा पनि रगतको अभाव, रक्तदानका कार्यक्रम आयोजना गरी दिर्न आग्रह
भक्तपुर, भाद्र ७ गते
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाको बेला रक्तदानका कार्यक्रमहरु हुन नसक्दा रक्त सञ्चार सेवा केन्द्र भक्तपुरमा पनि रगतको अभाव देखिएको छ । रगत नपाए भक्तपुर आउनु भन्ने उद्घोष गर्दै आएको सो केन्द्रमा मात्र होइन देशभर नै रगतको चरम अभाव भइरहेकाले रक्तदानका कार्यक्रमहरुलाई बन्देज नलगाउन तथा रक्तदानका कार्यक्रमहरु आयोजना गरी दिन नेपाल रेडक्रस सोसाइटीले आग्रह गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा पनि यतिबेला रगतको अभाव देखिएको छ । चैत्र, बैशाख, जेष्ठ र असार सम्मकोे लक डाउनमा पनि पर्याप्त रगत संकलन गरी बितरण व्यवस्था गर्न सफल रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले पछिल्लो चरणमा कोभिड १९को संक्रमण बढ्न थालेसँगै पर्याप्त रगत संकलन गर्न नसकेकाले रगतको माग अनुसार पुर्ति गर्न नसकिरहेको जनाएको छ ।
सो केन्द्रमा निषेधाज्ञाको समयमा पनि उपत्यकाका विभिन्न क्षेत्रबाट २ सयको हाराहारीमा दैनिक रगत लिन आउने गरेका छन् । यद्यपी हाल स्टकमा रगत छैन् । यसले इमजेन्सी केसको उपचारकालागि समस्या हुन सक्ने अनुमान गरेको छ । फोन नगरी रगत लिन आउने मानिसहरु खालि हात फर्कनुपर्ने अवस्था छ केन्द्रले जनाएको छ । फोन गरी आउनेलाई रगतको आवश्यकता अनुसार विरामीका आफन्त र शुभचिन्तकहरु बोलाएर भए पनि अति आवश्यक रगतको व्यवस्थापन गरी रहेका छन् ।
शनिवार भक्तपुरका दुई ठाउँमा भएको रक्तदान कार्यक्रमबाट ५० प्वाइन्ट रगत संकलन गरेको पनि शनिवार नै वितरण भएको जनाउँदै रगतको अभावले उपचारमा रहेका विरामीहरु निकै समस्यामा पर्ने गरेको सो केन्द्रले जनाएकोे छ । रगतबाट कोरना नसर्ने भनिए पनि कोरोना सर्ने दरले मानिसहरु रक्तदान गर्न नआउँदा रगतको अभाव देखिएको रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले जनाएको छ । यो बेला सुरक्षित तरिकाले व्यक्रिगत दुरी कायम गरी रक्तदानका कार्यक्रमहरु आयोजना गरी दिन रक्त सञ्चार केन्द्र भक्तपुरले सर्वसाधारण समुदाय र विभिन्न सामाजिक संघ संस्थालाई समेत अनुरोध गर्दै आएको छ ।














