लक डाउन प्रभावित शिक्षकलाई क्षतिपूर्ति दिन नेक्राविसंघको आग्रह

लक डाउन प्रभावित शिक्षकलाई क्षतिपूर्ति दिन नेक्राविसंघको आग्रह

भक्तपुर, असार २४ गते
कोभिड १९को जोखिमका कारण लक डाउनबाट प्रभावित शिक्षकहरुलाई क्षतिपूर्ति दिन नेपाल क्रान्तिकारी विद्यार्थी संघले सरकारलाई आग्रह गरेको छ । कोभिड १९ रोकथाममा सरकार असफल भएको भन्दै संघका अध्यक्ष सविन ख्याजूले आज एक विज्ञप्ति जारी गर्दै श्रमसँग जोडिएको समाजवादी शिक्षा व्यवस्था लागू गर्न संघले जोडदार माग गरेको छ ।
देश कोभिड–१९ महामारीको कारण संक्रमणमा रहेको उल्लेख गदैं नेपाली जनताले सरकारको बन्दाबन्दी (लकडाउन) लाई पूर्णरुपमा साथ दिए पनि संक्रमण वढ्दो रहेकाले लकडाउनको कारण देशमा बेरोजगारी समस्या बढेकोे जनाएको छ । यसको परिणाम गरिबी र भोकमरी पनि बढेको भन्दै खुल्ला सीमा नाकामा कडाई र नेपाल फर्केका जनतालाई स्तरीय क्वारेन्टाइनको व्यवस्था गर्न सरकार असमर्थ रहेका कारण दिन दुगुना र रात चौगुना कोभिड–१९ सङ्क्रमितहरु बढिरहेको छ र मृत्यु पनि बढ्दो छ । सरकार कोभिड–१९ सङ्क्रमण रोकथाममा सफल भएन विज्ञप्तिमा भनिएको छ ।
लकडाउनले अन्य क्षेत्रहरुसँगै शिक्षा क्षेत्र पनि प्रभावित भयो । कतिपय निजी विद्यालयहरूले पठनपाठन नै नगरे पनि विभिन्न शीर्षकहरूमा शुल्क असुल्ने काम गरे । नेक्राविसंघ विना पठनपाठन शुल्क नउठाउन निजी विद्यालयहरुको ध्यानाकर्षण गर्दछ भने निजी विद्यालय र कलेजका शिक्षक–कर्मचारीहरुको पारिश्रमिकको लागि सरकारले क्षतिपूर्ति गर्न आग्रह गर्दछौं, अध्यक्ष ख्याजूले जोड दिएका छन्
अनलाइन कक्षाको लागि सम्पूर्ण विद्यार्थीहरूलाई इन्टरनेट प्रविधिको सेवा सजिलै उपभोग पाउने गरी व्यवस्था गर्न नेक्राविसंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ । गरिब विद्यार्थी अनलाइन कक्षाबाट बंचित हुनुपर्ने वर्तमान अवस्था पनि अन्त्य हुनुपर्ने उल्लेख गर्दै नेकपा सरकारले आ. व २०७७÷७८ को बजेटमा प्रस्तुत गरेको सामुदायिक विद्यालयहरूको भौतिक सुधारको जिम्मा निजी विद्यालयहरूलाई दिने कार्यक्रम पूर्णतः नवउदारवादी आर्थिक कार्यक्रम भएको छ । सरकारले शिक्षामा थोरै बजेट विनियोजन गर्ने र विद्यार्थीहरूलाई शिक्षाको अवसरवाट टाढा राख्ने सरकारको पञ्चायती शैलीको यो संघ विरोध गर्दछ । शैक्षिक क्षेत्रमा निजी र सार्वजनिकजस्ता द्वैध शिक्षा नीति अन्त्य गरी माध्यमिक शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गरी श्रमसँग जोडिएको समाजवादी शिक्षा व्यवस्था लागू गर्न नेक्राविसंघले जोडदार माग अध्यक्ष ख्याजूले जनाएका हुन ।