भक्तपुरमा कार्तिक महिनामा ६९ मुद्दा दर्ता, जुवातास र भन्सार छलीविरुद्ध प्रहरीको आक्रामक कारबाही
भक्तपुर, २ मंसिर ।
जिल्ला प्रहरी परिसर भक्तपुरले चालु आर्थिक वर्ष २०८३/०८४ को कार्तिक महिनामा सम्पादन गरेका अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा जनचेतनामूलक कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीका अनुसार कार्तिक महिनामा विभिन्न शीर्षकमा कुल ६९ वटा मुद्दा दर्ता भई ३७ वटा फछ्र्यौट भएका छन्।
विवरण अनुसार अघिल्लो असोज महिनामा १४३ वटा मुद्दा दर्ता भएका थिए भने कार्तिकमा यो संख्या घटेर ६९ मा झरेको छ। विभिन्न आपराधिक घटनामा संलग्न १११ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
आर्थिक अपराध र लागूऔषधको अवस्था कार्तिक महिनामा आर्थिक अपराधतर्फ बैंकिङ कसुरका २१ र ठगीका ४ गरी २५ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै, जघन्य तथा गम्भीर अपराधअन्तर्गत लागूऔषधका ६ र ज्यान मार्ने उद्योगका ४ गरी १० वटा मुद्दा दर्ता भएका छन्। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ११ जनालाई पक्राउ गर्नुका साथै ४३.७७ ग्राम खैरो हेरोइन र ५२० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
महिला तथा बालबालिका सम्बन्धी अपराधमा जबरजस्ती करणीका ४ र बहुविवाहका १ गरी ५ वटा मुद्दा दर्ता भएका छन् भने संलग्न ५ जना पक्राउ परेका छन्। यस्तै, जिल्लामा ४ जनाले आत्महत्या गरेका छन्, जसमा १ जनाले विष सेवन र ३ जनाले झुन्डिएर आत्महत्या गरेको विवरणमा उल्लेख छ।
फैसला कार्यान्वयन र राजस्व संकलन अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ। विभिन्न मुद्दामा फरार रहेका ५१ जना प्रतिवादीलाई पक्राउ गरी ११ वर्ष ८ महिना १६ दिन कैद भुक्तान तथा ८ लाख ९४ हजार ९०२ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ।
यसैगरी, अवैध जुवातास र लंगुरबुर्जा खेलाउने तथा खेल्ने ७८ जनालाई पक्राउ गरी प्रहरीले ११ लाख ६२ हजार ५५० रुपैयाँ नगद बरामद गरेको छ। भन्सार छली ल्याइएको ९८ हजार २८० रुपैयाँ बराबरको छोकडा र खजुरसहित १ जना पक्राउ परेका छन्। प्राकृतिक सम्पदा दोहन गर्ने २ वटा जेसिबी (JCB) नियन्त्रणमा लिई १ लाख रुपैयाँ जरिवाना तिराइएको छ भने ७२० लिटर अवैध मदिरा बरामद गरिएको छ।
सवारी दुर्घटनामा ३ को मृत्यु, नागरिक सुनुवाइमा प्रदूषण र सिसीटिभीको गुनासो कार्तिक महिनामा भक्तपुरमा ३३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ४९२ सवारी साधनलाई कारबाही गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा स्थानीयवासीले चाँगुनारायणका ४० वटा सिसीटिभी मर्मत नभएको, काठ कारखाना र इँटाभट्टाका गाडीले धुलो–धुवाँ प्रदूषण बढाएको, स्कुल बस तीव्र गतिमा गुड्ने गरेको र कलेज आसपास गाँजा सेवन बढेको भन्दै नियन्त्रणका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए।
यस्तै, विपद् व्यवस्थापनतर्फ ११ स्थानमा भएको आगलागीबाट १७ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जिल्लाभरबाट हराएका २४ जनामध्ये २२ जनालाई प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ।














