भक्तपुरको कमलपोखरीमा छठको रौनकः स्वच्छता र सहजताले जोड्यो तराई–पहाडको संस्कृती
भक्तपुर । देशका विभिन्न क्षेत्रबाट काम तथा अध्ययनको सिलसिलामा भक्तपुर र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका तराईवासी तथा छठप्रेमीहरूले आज भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् ।
भक्तपुरमा पवित्र हनुमन्ते घाट र नदी भए पनि कमलपोखरी परिसर सफा र सहज भएकाले विगत २० वर्षदेखि निरन्तर रूपमा यहीँ छठ पर्व आयोजना गरिँदै आएको आयोजक समितिले जनाएको छ । पोखरीको स्वच्छता र व्यवस्थापनको सहजताका कारण वर्षेनी छठ पर्व मनाउन आउने श्रद्धालुहरूको आकर्षण कमलपोखरीमा बढ्दो छ ।
यस वर्षको छठ पर्व स्थानीय वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ । वडाध्यक्ष ह्यौंमिखाले अस्ताउँदै गरेको सूर्यलाई फलफूलको पूजासहित अर्घ्य दिएर पर्वको विधिवत् सुरुवात गर्नुभएको थियो ।
पर्वको अवसरमा कमलपोखरी परिसरमा छठी देवीको मूर्तिसमेत स्थापना गरिएको छ । आयोजक समितिका लक्ष्मण रौनियारका अनुसार आज साँझ स्थापना गरिएको छठी देवीको अनुहार उघार्ने कार्य सम्पन्न भएको छ ।
आयोजक समितिका अनुसार आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालु तथा श्रद्धालुहरू रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व समापन गरिनेछ । पर्व समापनसँगै छठी देवीको मूर्तिलाई दोलालघाटसम्म लगेर विसर्जन गर्ने परम्परा रहिआएको आयोजकले जानकारी दिएको छ ।














